- अमर काफ्ले

सुनसरीमा मेला लगाउन नपाइने भएको छ । सुनसरी प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लामा भीडभाड हुने मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा रोक लगाइएको जनाएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हरिनगरमा बसेको समन्वय बैठकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जानकारी दिए ।

निर्णय अनुसार अवस्था सामान्य नबने सम्म जिल्लाका कुनैपनि स्थानमा मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्न पाइने छैन् । प्रजिअ ढकालका अनुसार स्वास्थ्य मापदण्डको पालना गरी दुरी कायम गरेर मन्दिर तथा थानमा गरिने पुजाआजा गर्न भने छुट रहने छ । पछिल्लो निर्णय सँगै सुनसरीमा बैशाख महिनाभर हरेक दिनजसो लाग्ने सिरुवा मेला प्रभावित हुने भएको छ । प्रशासनले निर्णय पालना गराउन प्रहरीलाई निर्देशन समेत दिई सकिएको जनाएको छ ।

यसैगरी समन्वय बैठकले हाट बजार तथा विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने निर्णय गर्ने अधिकार भने स्वयं स्थानीय तहलाई सुम्पेको छ । उसले संक्रमणको अवस्था र जोखिमका आधारमा आफु पायकको क्षेत्रमा आवश्यक्ता अनुरुपको निर्णय कार्यान्वयनमा ल्याउन पाउने बताइएको छ ।यसैबिच हरिनगरमा बसेको समन्वय बैठकले जिल्लामा संक्रमण बढ्न सक्ने अवस्थालाई आंकलन गर्दै सबै स्थानीय तहका स्वास्थ्यकर्मी लगायत स्वास्थ्य सामग्री तथा जनशक्ति सहितेको क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरु तयारी अवस्थामा राख्ने समेत निर्णय गरेको छ ।त्यसका साथै सीमा क्षेत्रमा हुदै आएको पेट्रोलिम पदार्थको चोरी निकासी नियन्त्रणका लागि पूर्व निर्णय बमोजिम स्थानीय वडा अध्यक्षको सिफारिसका आधारमा मात्र पेट्रोल पम्पले इन्धन बिक्रि गर्न पाउने बताइएको छ । बैठकले २०७८ जेठ सम्म जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने समेत निर्णय गरेको छ । यता प्रशासनले मेला सहितका भीडभाडजन्य गतिविधिमा रोक लगाइएको भनि सार्वजनिक गरेको निर्णय कार्यान्वयन हुनेमा भने सर्वसाधारण विश्वस्त छैनन् । विगतका दिनमा समेत प्रशासनले कोरोनालाई लक्षित गरी विभिन्न सूचना जारी गरेकोमा कार्यान्वयन फितलो देखिएको भन्दै उनीहरुले पछिल्लो निर्णय समेत सोहीको निरन्तरता मात्रै हुन सक्ने अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया