- अमर काफ्ले

नेपाल सरकारले बैशाख मसान्त सम्म शिक्षण संस्थाहरु बन्द गर्न दिएको निर्देशनका बाबजुत इनरुवाका निजी तथा संस्थागत विद्यालयले पठनपाठन संचालनमा ल्याएका छन् ।मन्त्रि परिषद्को बैठकले सदरमुकाम सहितका प्रमुख शहरहरुको नाम किटेरै विद्यालय बन्द गराउन भनेको थियो । यद्यपि, सदरमुकाम इनरुवाको नगर क्षेत्रमा रहेका सबैजसो निजी स्कुलले विद्यालय लगाएका छन् ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयले समेत धरान, इटहरी र सदरमुकाम समेत भनेकाले इनरुवामा रहेका विद्यालय समेत बन्द हुने निश्चिित प्राय थियो । त्यसका बाबजुत नगरभित्रका विद्यालय भने खोलिएका छन् । इनरुवामा केन्द्रको निर्देशन पूर्वनै नगरपालिकाले नगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।इनरुवा प्याब्सनका अध्यक्ष मनोज यादवले नगरपालिका सँग भएको सहमति अनुरुप नै विद्यालय संचालनमा ल्याइएको बताए । उनले परीक्षा लिएर विद्यालय बन्द गर्ने भन्ने सहमति बमोजिम विद्यालयहरुमा पठनपाठन भैरहेको जानकारी दिए ।उता शिक्षा शाखा प्रमुख समेत रहेका इनरुवा नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत डिल्ली निरौलाले संस्थागत विद्यालय संचालकले भनेको सहमतिको विषय मन्त्रि परिषद्को निर्णय सार्वजनिक हुनु अघिको भएको बताए । उनले केन्द्रलेनै निर्देशन जारी गरिसकेको अवस्थामा जोखिम मोलेर विद्यालय संचालन गर्न सक्ने अवस्था नभएको बताए ।

निरौलाले तत्कालैबाट नगर भित्र रहेका विद्यालय बन्द गर्न परिपत्र गर्ने बताए । पूर्व निर्धारित परीक्षा संचालनको सवालमा भने बसेर छलफल गर्न सकिने उनले बताए । उनले अहिलेको अवस्थामा विद्यालय खोलेर पठनपाठन भने गर्न नपाइने स्पष्ट पारे ।निरौलाले सहमति जुटेको खण्डमा तयारी कक्षा अनलाइन माध्यमबाट गराएर परीक्षा भने मापदण्ड निर्धारण गरी सिफ्ट छुट्याएर संचालन गर्न सकिने बताए ।यता बन्द गर्ने र नगर्ने भन्ने विषयमा विद्यालय संचालक र नगरपालिका बिच कुरो बाझिदा अभिभावक भने अन्यौलमा परेका छन् । उनीहरुले नेपाल सरकारले निर्देशन जारी गर्दा समेत पालना नहुनु दुखद भएको बताए । अभिभावहरुले विद्यालय जाने उमेरका बालबालिकामा कोरोनाको दोस्रो लहरको जोखिम रहेको बताइरहँदा समेत विद्यालय संचालन गरिनुले दुविधा बढाएको बताए ।

तपाईको प्रतिक्रिया