- अमर काफ्ले

सुनसरी प्रहरीले मास्क खै अभियान संचालनमा ल्याएको छ । समुदायमा संक्रमण फैलने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले जिल्लामा मास्क खै अभियान पूनः संचालनमा ल्याएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवाबाट मास्क खै अभियान थालेको छ । प्रहरीले सर्वसाधारणले अटेर गर्ने क्रम नरोकिएको भन्दै सचेतनाका लागि अभियान थाल्नु परेको जनाएको छ ।

अभियान अन्र्तगत प्रहरीले अनिवार्य मास्क प्रयोगमा जोड दिदै स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्न थालेको छ । प्रहरीले स्वयं सचेत हुन आवश्यक रहेको भन्दै हेलचेक्राई नगर्न अभियान मार्फत आग्रह गर्न थालेको हो ।

इनरुवामा प्रहरी निरीक्षक जयदेव माझी र मिनादेवी राई सहितको टोलीले बजार क्षेत्रमा सचेतना सहित अनिवार्य मास्कको प्रयोग सम्वन्धि कार्यक्रम संचालन गरेका थिए ।प्रहरीको टोलीले मास्क नलगाई हिंड्ने सर्वसाधारणलाई सम्झाई बुझाई गर्नुका साथै अवस्था भयावह बन्दै गएकाले अटेर गर्ने उपर कानुनी कार्वाहीको प्रकृया चाल्न बाध्य हुने भनेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अभियान जिल्लाभर संचालन गरिने छ । प्रहरी प्रमुख कमल थापाले जोखिम बढ्दा समेत सर्वसाधारणको हेलचेत्रक्राई नरोकिएकाले सचेत गराउन सर्वसाधारण लक्षित अभियान चालिएको बताए ।

यता सुनसरी प्रशासनले समेत स्वास्थ्य सावधानी अपनाउन जिल्लावासी समक्ष आग्रह गरेको छ । प्रशासनले भारतसँग सीमा जोडिएको जिल्ला भएकाले समेत कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्लावासी समक्ष स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न भनेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा बढ्दो संक्रमण दर र सकृय केसले अवस्था भयावह उन्मूख हुन सक्ने तर्फ सबै नागरिक सचेत हुन आवश्यक रहेको बताए ।  प्रजिअ ढकालले स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन प्रहरीलाई आवश्यक निर्देशन दिइएको समेत बताए । उनले सर्वसाधारणले अटेर गर्ने गरेको गुनासोलाई मध्यनजर गर्दै आवश्यक्ता अनुसार कडाई गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।

मास्क खै अभियान अन्र्तगत इनरुवामा प्रहरीको कार्यक्रमलाई बजार क्षेत्रका स्थानीयले समेत साथ दिएका थिए । समिम अख्तर सहितकाले अभियानमा सघाउन प्रहरीलाई निशुल्क मास्क हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया