- अमर काफ्ले

कोशी टप्पु वन्यजन्तु आरक्षमा पछिल्लो अवधिमा ५७ वटा अर्ना थपिएका छन् । २ वर्षअघि ४ सय ४१ वटाको संख्यामा रहेको अर्ना पछिल्लो गणनाको क्रममा भने ५७ वटाले वृद्धि भएको पाइएको छ । आरक्ष कार्यालयले दिएको जानकारी अनुसार १२ दशमवल ९ प्रतिशतले अर्नाको संख्यामा वृद्धि भई कुल संख्या ४ सय ९८ पुगेको छ ।

आरक्षले आज अर्ना गणना प्रतिवेदन सार्वजनिक गर्दै संख्यात्मक वृद्धि बारे जानकारी दिएको हो । सार्वजनिक प्रतिवेदन अनुसार आरक्षमा वयश्क भाले अर्नाको संख्या २ सय २१ वटा रहेको छ । त्यसैगरी वश्यक पोथी अर्ना १ सय ६२ वटा र अर्ध वयश्क अर्ना ४८ वटा रहेका छन् । आरक्ष भित्र दुई वर्ष उमेर सम्मको अर्नाको बच्चा ३५ वटाको संख्यामा रहेको जनाएको कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले गणनाको क्रममा एक वर्ष सम्मको बच्चा ३२ वटा भेटिएको जनाएको छ ।

आरक्ष कार्यालयले अर्नाको संख्यामा वृद्धि हुँदै गएपनि संरक्षणमा समस्या थपिदै गएको जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार खुल्ला चरिचरण र छाडा चौपायाका कारण अर्नाको जिन समस्यामा पर्दै गएको छ । रामका अनुसार आरक्ष भित्रको संरक्षित क्षेत्र समेत साँघुरो भएको र मानवीय अतिक्रमण जस्ता कारणले समेत अर्ना सहितका जंगली जनावरको वासस्थान संकटमा पर्दै गएको छ । आरक्षले आयोजना गरेको गणना प्रतिवेदन सार्वजनिक कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सहित कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारी लगायतको उपस्थिति रहेको थियो । आरक्षको कार्यालयले बैशाखको ६ गतेबाट ११ गते अर्ना गणना गरेको थियो ।

तपाईको प्रतिक्रिया