- अमर काफ्ले

भारतसँग सीमा जोडिएको सुनसरीको नाकामा सशस्त्र प्रहरीले कडाइ गर्न थालेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले दिएको जानकारी अनुसार खुला नाकाबाट हुन सक्ने आवातजावत उपर निगरानी र नियन्त्रणको लागि ६ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले सीमा क्षेत्रमा जनशक्ति थप गरि परिचालन गरिएको बताए । उनले भारतमा कोरोना भाइरसले भयावह अवस्था निम्त्याएको र नेपालमा समेत संक्रमण दर बढ्दो क्रममा रहेको हुँदा खुला सीमाबाट हुने आवतजावत रोक्न सुरक्षाकर्मीको उपस्थिति बढाइएको जानकारी दिए ।

प्रहरी उपरीक्षक पौडेलले धरान, इटहरी लगायतका क्षेत्रमा रहेको जनशक्तिलाई व्यवस्थापन गरी सीमा क्षेत्रमा परिचालन गरिएको जनाए । उनका अनुसार सीमा क्षेत्रमा आवश्यक्ता अनुसार सुरक्षाकर्मी थपिदै लगिने समेत बताए ।

सीमा क्षेत्रमा सशस्त्रका १० वटा बिओपी (बोर्डर आउट पोष्ट) रहेका छन् । अघिल्लो पटक झंै सशस्त्रले दोस्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै सीमामा फरवार्ड पोष्ट समेत थपेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक पौडेलका अनुसार सीमा क्षेत्रमा ९ वटाको संख्यामा फरवार्ड पोष्ट संचालनमा ल्याइएको छ । ति पोष्टमा आवश्यक्ता अनुसारको सुरक्षाकर्मी थप गर्दै लगिने समेत उनले जानकारी दिए ।प्रहरी उपरीक्षक पौडेलका अनुसार सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पैदल गस्तीका साथै साइकल, मोटरसाइकल र गाडीबाट हुने गस्ती बढाएको छ । उनका अनुसार रातीको समयमा समेत निगरानी र सर्तकता बढाइएको छ ।पौडेलले सरकारले खुला गरेको भाण्टबारी नाकाबाट स्वास्थ्य चेकजाँग गरी प्रवेश दिइनु वाहेक अन्यत्रबाट हुने खुला प्रवेशलाई शून्यमा झारिने बताए ।

जसकालागि भारतीय सुरक्षाकर्मी (एसएसबी) सँगको समन्वय र सहकार्यमा सीमामा निगरानी संगै कडाइ थालिएको उनले जानकारी दिए । सुनसरीको ६२ किलोमिटर भूमि भारतसँग खुला रुपमा सीमा जोडिएको छ । बर्जु, देवानगञ्ज, कोशी र हरिनगर गाउँपालिकाको नाका भारतसँग जोडिएको र दुई देशीय रुपमा हुने खुला आउजाउले कोरोनाको जोखिम बढाउने हुँदा नाकामा कडाइ गरिएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया