- अमर काफ्ले

प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल ग्यारेजमा फेला परेको छ । प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरी हातामा राखेको बाइक पाटपुर्जा निकालिएको अवस्थामा ग्यारेजबाट फेला परेको हो । बबियामा भएको कुटपिटको घटनामा संलग्न व्यक्तिहरु सहित प्रहरीले ज ५ प ३३४६ नम्बरको पल्सर मोटरसाइकल बरामद गरी कार्यालय हातामा राखेको थियो ।

संलग्न व्यक्तिहरु छाडिए पनि मिलापत्र नभएको भन्दै प्रहरीले कार्यालय हाताभित्रै राखेको उक्त मोटरसाइकल प्रहरी कार्यालय नजिकै रहेको ग्यारेजमा पाटपुर्जा खोलिएको अवस्थामा युवाहरुले फेला पारेका हुन् । सम्वन्धित धनीले कार्यालय हातामा मोटरसाइकल नभेटेपछि खोजतलास गरेका थिए । सो क्रममा मोटरसाइकल पाटपुर्जा निकालिएको अवस्थामा करण मोटरसाइकल वर्कशपमा भेटिएको थियो । नेपाल रिकण्डिसन सेन्टरको नाममा रहेको मोटरसाइकल रामदेव मेहताले कुदाएको अवस्थामा उनी र दौलतराज मेहता बिच बबियामा झगडा र कुटपिट पश्चात प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । मोटरसाइकल ग्यारेजमा फेला पारेका युवाहरुले घटना तीन महिना अघिको भएको बताएका छन् ।

रिकण्डिसन सेन्टरका प्रोप्राइटर बसिर अन्सारीले मोटरसाइकल ग्यारेजमा भेटिएको विषयमा आश्चर्य जनाए । उनले ग्यारेजमा मोटरसाइकल देखेपछि सोधपुछ गर्दा ग्यारेजवालाले प्रहरीलेनै ल्याएर पाटपुर्जा निकाल्न भनेको जवाफ पाएको सुनाए । उनका अनुसार प्रहरीले मोटरसाइकलको काम लाग्ने सबै पाटपुर्जा निकाल्न ग्यारेजवालालाई भनेको बुझिएको बताए । सो विषयमा छानविन हुनुपर्ने बताएका अन्सारीले आफ्नो मोटरसाइकल सकुशल फिर्ता पाउनु पर्ने बताए । यता सो विषयमा बुझ्दा उक्त विषय जानकारीमा आएकाले छानविन थालिएको सुनसरी प्रहरीले बताएको छ । सुनसरी प्रहरीले दोषी पाइए संलग्न उपर कार्वाही हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया