- अमर काफ्ले

सुनसरीको इनरुवामा २० वेडको कोभिड अस्पताल संचालनको तयारी थालिएको छ ।स्वास्थ्य कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले संयुक्त रुपमा कोभिड अस्पताल संचालनमा ल्याउने गरी तयारी अघि बढाएको हो ।स्वास्थ्य कार्यालय सुनसरीमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले इनरुवा अस्पतालको इमरजेन्सी कक्षलाई कोभिड अस्पतालका रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो ।

बैठकमा सहभागी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्थानीय स्तरमै उपचारको बन्दोवस्ती मिलाउन कोभिड अस्पताल संचालनमा ल्याउन लागिएको बताए ।मेहता सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाका साथै व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयको टोलीले कोभिड अस्पताल संचालनको लागि इनरुवा अस्पतालको संरचना निरीक्षण समेत गरेको थियो ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार आवश्यक उपकरण र स्रोत साधन जुटाएर तीन दिन भित्र कोभिड अस्पताल संचालनमा ल्याइने बताए ।
प्रसाईले संचालनमा ल्याउन लागिएको २० बेडको अस्पताल सुविधा सम्पन्न रहने बताए । उनले अस्पतालको अन्य सेवा प्रभावित नहुने गरी कोभिड अस्पताल संचालनको तयारीमा जुटेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया