- अमर काफ्ले

इनरुवा। सुनसरीमा कोरोना संक्रमित ५ सय नाघेका छन् । स्वास्थ्य कार्यालय सुनसरीले दिएको पछिल्लो जानकारी अनुसार जिल्लामा कुल संक्रमितको संख्या ५ सय १२ पुगेको छ । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन मनिस सुवेदीले कार्यालयमा प्राप्त विवरण अनुसार संक्रमित ५ सय नाघेको बताउनु भएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा पोजेटिभ पाइएको सुवेदीले जानकारी दिनु भयो । वहाँका अनुसार सुनसरीमा कोरोना संक्रमित ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयले जिल्लामा संक्रमितको संख्या बढ्दै गएको जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जिल्लावासी समक्ष स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै अत्यावश्यक अवस्था बाहेकको हकमा घर बाहिर ननिस्कन अनुरोध गर्नु भएको छ । सुनसरीमा जिल्ला प्रशासन कार्यालले सकृय संक्रमित २ सय ५० पुग्दा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरेको थियो । उसले ५ सय संक्रमित पुगेपछि भने थप निर्णय लिइने जनाएको थियो । यसैबिच सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आवश्यक्ता अनुसार थप निर्णय लिइने बताउनु भएको छ । प्रजिअ ढकालले डीसीसीएमसीको बैठकले सो बारेमा निर्णय लिने जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया