- अमर काफ्ले

इनरुवा नगरपालिकाको कार्यालयले नगरवासीको हकमा कोरोना परिक्षणको लागि स्वाब संकलनको व्यवस्था मिलाउने भएको छ ।दिनानुदिन बढ्दो जोखिमलाई मध्यनजर गर्दै संक्रमणको अवस्था पत्ता लगाउन स्वाब संकलन गरि परिक्षणको व्यवस्था मिलाउन लागिएको नगर प्रमुख राजन मेहताले बताए ।मेहताले दोस्रो लहरसँगै कोरोना परिक्षणको सवालमा नगरवासीले झैल्दै आउनु परेको समस्या र असहजतालाई महसुस गरी पीसीआर परिक्षणको व्यवस्था मिलाउन लागिएको बताए । उनले कन्ट्याक्ट ट्रेसिङको कार्यलाई समेत संगसंगै अघि बढाउन लागिएको जानकारी दिए ।

नगर प्रमुख मेहताले कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति र फ्रन्ट लाइनरहरुलाई पहिलो प्राथमिकतामा राखिने बताए ।मेहताले पहिलो चरणमा स्याम्पल कलेक्सनका रुपमा स्वाव संकलन गरि परिक्षण गरिन लागेको बताए । उनले बजार क्षेत्र सहित बढी भिडभाड हुने स्थान आसपासका साथै सबै वडा समेटिने गरी पीसीआर परिक्षण गरिने जानकारी दिए ।मेहताले नगरवासीको स्वास्थ्य र सुरक्षाको सवालमा आफु र सिङगो नगरपालिका चिन्तित रहेको भन्दै अभिभावकत्वबाट पछि नहट्ने बताए । उनले नगरवासीको लागि सहज परिक्षण र स्वास्थ्योपचारको व्यवस्था मिलाइने बताए ।मेहताले इनरुवा अस्पतालमा भेन्टिलेटर सहितको कोभिड अस्पताल समेत संचालनको अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले अक्सिजन सिलिण्डर सहितको यथेष्ट बन्दोवस्ती मिलाइएकाले कोभिडका बिरामी नगरवासीले छिटैनै स्थानीय स्तरबाटै सहज र भरपर्दो सेवा पाउने विश्वास दिलाए ।मेयर मेहताले नगर भित्र छुट्टै होल्डिङ सेन्टर र आइसोलेसन कक्ष समेत संचालनको तयारीमा जुटेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया