इनरुवा नगरपालिकाले नगरवासीको हकमा स्वाब संकलन थालेको छ ।  कोरोना परिक्षणका लागि झेल्दै आएको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले नगरवासीको हकमा स्थानीय स्तरमै स्वाब संकलनको व्यवस्था मिलाएको हो ।

जस अन्तर्गत आज वडा नम्बर ३ को सोमबारेमा ५१ जनाको स्वाब संकलन गरिएको छ । संकलित स्वाबको रिपोर्ट २ दिनमा प्राप्त हुने सन्तोष देवले जानकारी दिए ।
सोमबारे हटिया स्थलबाट सुरु स्वाब संकलन कार्यको नगरपालिका प्रमुख राजन मेहता, प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाका साथै वडाअध्यक्ष कालुराम गुरुङले अनुगमन गरेका थिए ।

इनरुवामा संक्रमित बढ्दै जाँदा नगरपालिकाको पहलमा स्वाब संकलन र परिक्षणको व्यवस्था मिलाइएको हो । हरेक वडामा नमूनाका रुपमा स्वाब संकलन गरी कोरोना परिक्षण गरिने नगर प्रमुख राजन मेहताले बताए । मेहताका अनुसार स्वाब संकलन संगै संक्रमितको कन्ट्याक्ट ट्रेसिङको कार्यलाई समेत सँगसँगै अघि बढाइने छ । उनले नगरवासीको सहजताको लागि स्थानीय तवरमै स्वाब संकलनको व्यवस्था मिलाइएको जानकारी दिए ।


तपाईको प्रतिक्रिया