- अमर काफ्ले

सुनसरी प्रशासनले बैशाख ३१ गते रातीबाट जिल्ला ठप्प पार्ने निर्णय गरेको छ ।कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्शमा पुगेको प्रशासन जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णयमा पुगेको हो ।संक्रमित र मृतकको संख्या बढ्दै जाँदा समेत सर्वसाधारणको हेलचेक्राई नरोकिएकाले प्रशासन कठोर निर्णयमा पुगेको बुझिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैशाख ३१ गते रातीबाट जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गरिन लागेको बताउनु भयो । वहाँले फैलदो संक्रमणका बिच सर्वसाधारणको गतिविधि चिन्ताको विषय बन्दै गएकाले सावधानी अपनाउन आग्रह गर्नु भएको छ । प्रशासनले जारी गरेको सूचना अनुसार बैशाख ३१ बाट १५ दिनको अवधि सम्म औषधि पसल बाहेकका कुनै पनि पसल खोल्न दिइने छैन् ।

जिल्ला प्रशासन कार्यालयले डीसीसीएमसीको बैठकले सो विषयमा निर्णय गरेको जनाएको छ ।बैठकले अत्यावश्यक बाहेकका अन्य सवारीका साधन संचालनमा समेत पूर्ण रोक लगाउने निर्णय गरेको छ । प्रशासनले दिएको जानकारी अनुसार अत्यावश्यक सेवाका कार्यालयका कर्मचारीको हकमा विहान र बेलुकी आउजाउ गर्ने समयमा मात्र छुट दिइने छ । प्रशासनले जारी गरेको सूचनामा अन्य विषय र निर्णय भने नेपाल सरकारले तोकेको र यसअघि लागु गरिए बमोजिम हुने जनाएको छ ।यसैबिच सुनसरीमा आजैबाट कडाइ भने थालिएको छ । बजारमा अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।  सुनसरी प्रहरीले जिल्लाभर कडाइ गरि सकिएको जनाएको छ । प्रहरीले अत्यावश्यक अवस्था बाहेक सर्वसाधारणलाई हिडडुल नगर्न भनेको छ । उसले अटेर गरेमा कानुन बमोजिम कार्वाहीको प्रकृया अघि बढाउने समेत जनाएको छ ।


तपाईको प्रतिक्रिया