- अमर काफ्ले

सुनसरीमा युवा वर्ग सबै भन्दा बढी कोरोना संक्रमित पाइएका छन् । स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार संक्रमित मध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको संख्या बढी छ । कार्यालयले सो उमेर समूह हाल सम्मको संक्रमित संख्याको २८ दशमलव ९ प्रतिशत रहेको जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार त्यसपछि भने ३१ देखि ४० वर्ष उमेर समूह २३ दशमलव ६ प्रतिशत संक्रमित पाइएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार संक्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूह १६ं दशमलव १ प्रतिशत रहेको छ । ५१ देखि ६० वर्ष सम्मका व्यक्तिहरु १२ दशमलव २ प्रतिशत संक्रमति पाइएको प्रसाईले बताए ।
त्यसैगरी जेष्ठ नागरिक तर्फ ६१ देखि ७० वर्षका व्यक्तिहरु ६ दशमलव ४ प्रतिशत कोरोना पोजेटिभ पाइएको जिल्लाको तथ्याङ्कले देखाएको छ ।
जेष्ठ नागरिक तर्फकै ७१ देखि ८० वर्षको उमेर समूह ३ दशमलव १ प्रतिशत संक्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह १ प्रतिशत र सो भन्दा माथिको उमेर समूह ० दशमलव १ प्रतिशत संक्रमित पाइएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयको तथ्याङकका आधारमा अहिले सम्म कोरोना संक्रमित पाइएका १० वर्ष मुनिका बालबालिकाको संख्या ३ प्रतिशत छ । ११ देखि २० वर्ष उमेर समूह भने ५ दशमलव ६ प्रतिशत संक्रमित पाइएको उसले जनाएको छ ।
सुनसरीमा दोस्रो लहरसँगै कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ । स्वास्थ्य कार्यालय सुनसरीले कार्यालयमा प्राप्त जानकारी अनुसार जिल्लाको सकृय संक्रमितको संख्या २ हजार नाघेको जनाएको छ । कार्यालयका अनुसार मृतकको संख्या ४० रहेको छ ।
यसैबिच स्वास्थ्य कार्यालयले जिल्लावासी समक्ष सरकारी निर्देशनको पालनामा जोड दिएको छ । उसले घरमै बस्न सबैमा आग्रह समेत गरेको छ । स्वास्थ्यका मापदण्ड पालना गरी कोरोना महामारीबाट बच्न स्वास्थ्यले सर्वसाधारण माझ अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया