- अमर काफ्ले

इनरुवा नगरपालिकाको कार्यालयले स्वास्थ्यकर्मीको टोली गाउटोल पठाउने भएको छ । टोलीले सम्भावित लक्षण भएकाहरुको पहिचान गर्ने बताइएको छ । त्यसका साथै गाउटोल पुग्ने स्वास्थ्यकर्मीले संक्रमित भइ होमआइसोलेशनमा बसेकाहरुको अवस्था पहिल्याउँदै आवश्यकता अनुसारको औषधी समेत उपलब्ध गराउने छ ।

नगर प्रमुख राजन मेहताको अध्यक्षतामा बसेको बैठकले दश वटै वडाका स्वास्थ्यकर्मीको उपस्थितिका बिच सो निर्णय गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, वडाअध्यक्ष कालुराम गुरुङ सहित नगर भित्र रहेका ११ वटा स्वास्थ्य संस्थाका इन्चार्ज र सह इन्चार्ज सहित मातहतका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।नगर प्रमुख राजन मेहताले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सावधानीका साधन उपलब्ध गराई गाउटोलमा खटाइन लागेको जानकारी दिए । उनले सिङ्गो विश्व महामारीसँग जुधिरहेको अवस्थामा संयमित भएर रोकथामको प्रयासमा जुट्नु वाहेकको विकल्प नरहेको बताए । उनले नगरवासीको सेवा र सुविधाको हकमा नगरपालिकाको कार्यालयले हरसम्भव प्रयास गरिरहेको बताए ।

मेहताले सबै समूदाय र वर्ग महामारीको चपेटमा परेकाले सेवा प्रवाहमा छिटो र ढिलो भएको भन्ने विषयलाई गलत प्रचार गरिनु भने उचित नहुने बताए । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मीको टोली हरेक वडाका घर–घरमा पुग्ने छ । सन्तोष देव भन्छन्, “हरेक परिवारको स्वास्थ्य अवस्था अपडेट राखिने छ । लक्षण देखिएकाको पीसीआर टेस्ट गराइने छ । संक्रमितको हकमा औषधीको जोहो गरिने छ । आवश्यक परामर्श दिइने छ । ”


तपाईको प्रतिक्रिया