इनरुवा। नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट संक्रमित भएका सञ्चारकर्मीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । दोस्रो चरणको कोरोना भेरियन्ट आएपछि जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी संक्रमित भएका बेलामा संक्रमित भएर होम आइसुलेसनमा बसेका संचारकर्मीलाई घरमा गएर स्वास्थ्य सेवा दिने सहमति भएको हो ।

कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टर, नर्स सहितको निःशुल्क स्वास्थ्य सेवा दिने सहमति भएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताउनुभयो । कोरोनाबाट संक्रमित भएर एक दर्जन पत्रकार संक्रमित रहेकामा केही अस्पतालमा उपचाररत छन् भने केही घरमै आइसोलेट भएर बसेकोमा घरमै आइसोलेट भएर बसेका संक्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टरद्धारा सेवा प्रवाह गर्न लागेका अध्यक्ष अधिकारीले बताउनुभयो । संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधोपचार गर्ने गरी डा. अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीसंग प्रेस युनियन बीच सहमित भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

घरमै गएर सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुनुका साथै संक्रमण मुक्त हुनका लागि सहज हुने अधिकारीको भनाई रहेको छ । युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरिएको थियो । बीमा गरिएका मध्ये ३० जनालाई जनही एकलाखका दरले रकम समेत पाइसकेको अधिकारीले बताउनुभयो । त्यसैगरी इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले नेतृत्व गरेर निर्माण गरेको आइसोलेसनमा प्रेस युनियन सहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीका लागि अक्सिजन सहितको निःशुल्क सेवा दिने तयारी भएको उहाँले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया