- अमर काफ्ले

बालिका बलात्कारको घटनालाई लिएर प्रकाशित भैरहेका समाचार र सामाजिक सञ्जालका टिकाटिप्पणी प्रति सुनसरी प्रहरीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।सुनसरी प्रहरीले घटना अनुसन्धान जारी रहेको अवस्थामा बाहिर उठान गरिएका विषय एकतर्फी देखिएकाले सो विषय प्रति आपत्ति समेत जनाएको छ ।उसले समाचार तथा सूचना सम्प्रेषण पूर्व तथ्यमा आधारित हुन जरुरी रहेको भनेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले विज्ञप्ती जारी गर्दै प्रहरीले त्यस्ता गतिविधिले समाजमा नकारात्मक असर पर्न जाने तर्फ सबै नागरिक सजक हुन आवश्यक रहेको औल्याएको छ ।अनुसन्धान जारी रहेको अवस्थामा अनर्गल प्रचारबाजी भएको प्रति विज्ञप्ती मार्फत असन्तुष्टि जाहेर गरेको सुनसरी प्रहरीले घटना अनुसन्धान र प्रगति विवरणका बारेमा कार्यालयमा आएर जानकारी लिन सकिने समेत जनाएको छ ।सुनसरी प्रहरीद्वारा जारी प्रेस नोटमा भनिएको छ, “बालिका बलात्कारी जोगाउन नेतादेखि प्रहरी सम्म सक्रिय भन्ने शिर्षक र सोही आशयका समाचार विभिन्न संचार माध्यममा आएको र सामाजिक सञ्जालमा भैरहेका टिकाटिप्पणी प्रति प्रहरीको गम्भिर ध्यानाकर्षण भएको छ ।”

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले बालिका बलात्कार घटनामा प्रहरीले अनुसन्धान जारी राखेको र सो घटना सम्वन्धमा निकै उपलब्धि समेत हात लागेको बताउनु भएको छ ।प्रहरी प्रवक्ता कार्कीले प्रहरी कसैको दवाबमा नआउने भन्दै घटनाका दोषी उपर कडा कार्वाहीको लागि प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नु भएको छ । कार्कीका अनुसार घटना अनुसन्धान र पक्राउका लागि प्रहरी निरीक्षक सुवास भट्टराईको कमाण्डमा ४ सदस्यीय टोली गठन भै कार्य भैरहेको छ । कार्कीले घटनामा संलग्न व्यक्ति फरार रहेकाले खोजी भैरहेको र छिट्टै नतिजा हात लाग्ने समेत विश्वास दिलाउनु भएको छ । रात्री विवाहमा सहभागी एक बालिका बैशाख १८ गते बलात्कारमा परेकी थिइन् । बलात्कारमा संलग्न पक्राउ नपरेको र मुद्दा कमजोर बनाउन खोजिएको जस्ता विषय उठान गरी प्रहरी लक्षित आरोप लागि रहँदा जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रेस रिलिज जारी गरेको हो ।


तपाईको प्रतिक्रिया