- अमर काफ्ले

कोरोना महामारीलाई लक्षित गरी सामाजिक सञ्जालमा थालिएको अभियानमा १५ लाख बढी रकम जुटेको छ । अमेरिकामा बस्दै आएका डाक्टर हरिवंश दुलाल र कतारमा रहेका उत्तम चाम्लिङ राईले चलाएको अभियानमा सो बराबरको सहयोग रकम जुटेको हो ।

दुलाल र राई दुवै इनरुवाबासी हुन् । हाल उनीहरु रोजगारीको क्रममा विदेशमा छन् । दुलाल र राईले थालेको अभियानमा विभिन्न मुलुकमा रहेका इनरुवा घर भएकाहरुले यथासक्य रकम सहयोग गर्दै आएका छन् ।अभियानकर्ता मध्येका हरिवंश दुलालका अनुसार राहत सहयोग अभियानमा इनरुवा घर भई विभिन्न देशमा रोजगारीका क्रममा रहेकाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।दुलालले नेपालकै विभिन्न स्थानमा बस्ने मात्र नभई स्वयं इनरुवामै रहँदै आएकाहरुले समेत सहयोग वापतको रकम उपलब्ध गराउँदै आएको बताए । जसलाई आफुले निकैनै उपलब्धिपूर्ण रुपमा हेरेको उनले बताए ।

दुलालले सहयोगी मनहरुबाट जुटेको रकमबाट खाद्यान्य लगायतका सरसामान खरीद गरी लक्षित परिवारलाई राहतको रुपमा वितरण थालिएको बताए । उक्त काम भने स्थानीय युवा समूहसँगको सहकार्य र समन्वयमा अघि बढाइएको उनले जानकारी दिए ।राहत अभियानलाई पारदर्शी र प्रभावकारी बनाउन लागिपरेको बताउने अर्का अभियानकर्मी उत्तम राईले कोरोनाका कारण मारमा परेका र छाक टार्न समस्यामा परेकाको हकमा राहत कार्यक्रम अघि बढाइएको बताए । उनले समस्यामा परेका जोकोहीले म्यानेजमेन्टका राकेश निरौलालाई सम्पर्क गर्न सक्ने बताए ।राईले महामारीको समयमा राज्यको मात्रै मुख ताक्नु उपयुक्त नहुने निष्कर्श सहित आफु लगायत अन्य सहयोगी दाताहरु अभियानमा जुटेको बताए । उनले राहत वितरण र सहयोगको क्रम जारी रहने समेत बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रही अभियान चलाएका डाक्टर हरिवंश दुलाल र उत्तम चाम्लिङ राईले सहयोगीबाट स्वतस्फूर्त रुपमा संकलन भएको रकम पूर्ण रुपमा कोरोनाका कारण थलिएका परिवारकालागि राहत वितरणमा खर्चिने बताएका छन् ।उनीहरुले हरहिसाबको पारदर्शीता र राहत वितरणको विषयमा स्थानीय अगुवा र संचारकर्मीहरुलाई अनुगमनको लागि आग्रह गरे बमोजिमको कार्य भैरहेको समेत बताए । इनरुवा भित्र राहत वितरणको काम भने इनरुवा इभेन्ट म्यानेजमेन्टले सम्हाल्दै आएको छ । सामाजिक क्षेत्रमा अग्रणी रहँदै आएको म्यानेजमेन्टले राहत वितरणको कार्यमा समन्वय र साथ दिंदै आएको अभियानकर्मीहरुले बताएका छन् ।

म्यानेजमेन्टका संयोजक राकेश निरौलाले यस अघिका वर्षमा समेत सामाजिक उत्तरदायित्व पूरा गर्ने कार्य गर्दै आएकोमा पछिल्लो पटक समेत निरन्तरता दिइएको बताए । उनले देश विदेशबाट जुटेको सहयोगबाट राहत वितरण थालिएको बताए ।निरौलाले सामाजिक क्षेत्रमा कृयाशिल युवा समूहका रुपमा रहेको टिम आहतमा परेकाहरुको लागि राहत लिएर घरदैलोमा पुग्दै आएको बताए । वितरण प्रमुखका रुपमा रहेका निरौलाले लक्षित वर्ग र परिवार पहिचान गरी राहत वितरणको कार्यलाई अघि बढाउदै आएको बताए ।

टोलीले घरदैलो अभियान मार्फत आवश्यक पर्नेलाई पौष्टिक आहार र औषधी तथा संक्रमितको हकमा औषधी र स्वास्थ्य सामाग्री वितरण गर्दै आएको म्यानेजमेन्टले जनाएको छ । कोरोना महामारीका कारण छाक टार्न समस्यामा परेको वर्गलाई लक्षित गरी चालिएको अभियान अन्तर्गत पहिलो चरणमा ५ सय परिवारलाई राहत वितरण गर्ने उसले जनाएको छ । उसले विपन्न, असहाय, अशक्त, अपाङ्ग, वृद्धवृद्धा, एकल महिलालाई राहत वितरणको क्रममा प्राथमिकतामा राखिएको जनाएको छ ।


तपाईको प्रतिक्रिया