- अमर काफ्ले

इनरुवा। इनरुवामा संचालनमा ल्याउन लागिएको कोभिड अस्पतालको आज उद्घाटन भएको छ। नगर प्रमुख राजन मेहता र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारीले कोभिड अस्पतालको संयुक्त रुपमा उद्घाटन गरेका हुन । उद्घाटन गरिएको अस्पताल २० वेडको रहेको छ । कोभिड अस्पताल इनरुवा अस्पतालको आकस्मिक कक्षको भवनमा संचालनमा ल्याइएको छ । अस्पताल उद्घाटन भएपनि विरामी भर्ना भने बुधवारबाट मात्र लिइने बताइएको छ ।

इनरुवा अस्पतालका निमित्त प्रमुख लोकेन्द्र आचार्यले संचालन पूर्वका प्रकृयागत केहि काम बाँकी रहेकाले भर्ना लिने काम भने एक, दुई दिन ढिला हुन सक्ने बताए । यद्यपि उनले भर्ना बाहेकका अन्य प्रारम्भिक उपचार भने थालिएको बताए । यसैबिच इनरुवाको कोभिड अस्पतालमा आउने बिरामी, कुरुवाका साथै उपचारमा खटिने चिकित्सक सहितको जनशक्तिका लागि खानपिनको प्रवन्ध भने उद्योग वाणिज्य संघ इनरुवाले मिलाउने भएको छ । उवासंघ इनरुवाका अध्यक्ष विरेन्द्र साहले सहयोगका रुपमा खाना र नास्ताको खर्च व्यहोर्ने बताए ।

इनरुवाको कोभिड अस्पताल इनरुवा नगरपालिका, इनरुवा अस्पताल, स्वास्थ्य कार्यालय र प्रदेश सरकारको संयुक्त पहलमा संचालनमा ल्याउन लागिएको हो । कोभिड अस्पतालको लागि नगरपालिकाले अक्सिजन पाइप लाइन लगायतका सामाग्री खरिद तथा जडानमा लगानी गरेको छ । व्यवस्थापन लगायतका अन्य जिम्मेबारी भने अस्पताल प्रशासनले हेर्ने गरी बन्दोवस्ती मिलाइएको निमित्त अस्पताल प्रमुख आचार्यले जानकारी दिए ।


तपाईको प्रतिक्रिया