- अमर काफ्ले

इनरुवामा संचालनमा ल्याइएको कोभिड अस्पतालमा ५ जनाले भर्ना भई उपचार सेवा लिएका छन् । यसै साता संचालनमा आएको अस्पतालमा हाल सम्म ५ जना कोभिडका विरामी भर्ना भएको अस्पतालले जनाएको छ । जसमध्ये १ जना निको भई घर फर्किएका छन् ।

इनरुवा अस्पताल प्रमुख लोकेन्द्र आचार्यका अनुसार भर्नाका लागि आउनेको संख्या निकै रहेपनि चेकजाँच पश्चात थप उपचारको आवश्यक्ता महसुस भएकाहरुको हकमा मात्र भर्ना लिने गरिएको छ । आचार्यका अनुसार कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका ५ जना मध्ये १ जना निको हुँदा २ जनालाई रेफर गरिएको छ । थप चिकित्सकीय परामर्श सहितको उपचारका लागि उनीहरुलाई परिवारको स्वेच्छाले रेफर दिइएको आचार्यले बताए । बाँकी तीन जनाको अवस्था सुधारोन्मुख र सामान्य रहेको उनले बताए । अस्पताल प्रमुख आचार्यले कोभिड अस्पतालका लागि आवश्यक अक्सिजन सहितका सामाग्रीको पर्याप्तता रहेको समेत बताए । । उनले अस्पताल संचालनका लागि दाताहरुबाट यथेस्ट मात्रामा सहयोग प्राप्त भैरहेको समेत बताए ।


तपाईको प्रतिक्रिया