- अमर काफ्ले

कृषि विकास बैंक लिमिटेड इनरुवा शाखाले जिल्ला स्थित सुरक्षा निकायलाई सहयोग स्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । बैंकको इनरुवा शाखाले सदरमुकाम स्थित रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लक्षित गरी स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

कृषि विकास बैंक लिमिटेड शाखा इनरुवाका प्रबन्धक सुरज कुमार पोखरेल सहितको टोलीले सम्वन्धित कार्यालयका प्रमुखलाई भेटेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकका शाखा प्रबन्धक पोखरेलले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापा र सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी माधव प्रसाद ढकाललाई ति सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

त्यसैगरी सोही टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई समेत स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । बैंकको तर्फबाट प्रदान गरिएको स्वास्थ्य सामाग्री सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बुझ्नु भएको थियो ।

बैंकका शाखा प्रबन्धक पोखरेलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्याउने उद्येश्य साथ स्वास्थ्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराइएको बताउनु भयो ।वहाँले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र कर्मचारीको हकमा उपयोगी स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो । प्रबन्धक पोखरेलले सहयोगका रुपमा माक्स, सेनिटाइजर र फेस सिल्ड जस्ता सामाग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका उपरीक्षकद्वयले स्वास्थ्य सामाग्री बुझ्दै सहयोगको लागि कृषि बिकास बैंकको टिम प्रति आभार प्रकट गर्नु भएको थियो ।सुरक्षाकर्मी र कर्मचारीकालागि बैंक मार्फत स्वास्थ्य सामाग्री जुटाउने कार्यको पहल तथा समन्वय भने इनरुवाका सामाजिक अगुवा रोहित निरौलाले मिलाएका हुन् । निरौलाले व्यक्तिगत पहल र सहयोगका साथै दाता जुटाएर फ्रन्ट लाइनरहरुको लागि आवश्यक स्वास्थ्य सामाग्री जुटाउदै आएका छन् । सामाजिक क्षेत्रमा सकृय रहँदै आएका निरौला कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीका अलावा विपन्न तथा असहायको सहयोगमा समेत सकृय रहँदै आएका छन् ।


तपाईको प्रतिक्रिया