- अमर काफ्ले

इनरुवा ६ मा रहेको मधेशा स्वास्थ्य चौकी नगरको पहिलो पोषण मैत्री स्वास्थ्य संस्था बन्न सफल भएको छ ।  नगर भित्र रहेका अन्य दश वटा स्वास्थ्य संस्थालाई पछि पादै मधेशा पोषण मैत्री घोषित हुने पहिलो स्वास्थ्य संस्था बनेको हो ।

स्वास्थ्य सूचक, सेवा प्रवाहको अवस्थाका आधारमा उत्कृष्ठ ठहरिएको मधेशा स्वास्थ्य चौकीलाई नगर प्रमुख राजन मेहताले पोषण मैत्री स्वास्थ्य संस्था घोषित गरेका हुन् ।पोषण मैत्रीका लागि स्वास्थ्य संस्थाले निर्धारित मापदण्ड पुरा गर्नु पर्ने हुन्छ । जसमा अब्बल देखिएकाले मधेशालाई नगरको पहिलो पोषण मैत्री स्वास्थ्य संस्था घोषित गरिएको मेहताले बताए ।

पोषण मैत्री बन्नका लागि खोप वृद्धिका साथै बच्चाको वृद्धि अनुगमन निरन्तर भएको जस्ता मापदण्ड निर्धारण गरिएका छन् । त्यसका साथै आइरन चक्की खाएको, सुत्केरी तथा गर्भवती पोषण कार्यक्रममा सहभागि भएको र व्यवस्थित साथ सूचना रेकर्ड राख्नुका साथै जुकाको औषधि र बालभिटा खुवाएको हुनुपर्ने छ ।त्यस्तै ६ महिना पछि पुरक खाना खाएको, पोषण कर्नर राखेको र परामर्श सेवा प्रदान गरेको जस्ता निर्धारित मापदण्ड पुरा गरेको आधारमा मधेशालाई पोषण मैत्री घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले बताए ।कार्यक्रममा उपप्रमुख जमुना गौतम, वडा अध्यक्षहरु कोषराज अधिकारी, कालुराम गुरुङ, अञ्जनी कुमार पोखरेल सहित स्वास्थ्य शाखा इनरुवाका सिनियर अहेब अधिकृतहरु सन्तोष देव, मिश्रिलाल मेहता, निखिल पोखरेल लगायत वडा सदस्य तथा स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

पोषण मैत्री घोषणा कार्यक्रममा मधेशा स्वास्थ्य चौकीले सेवा प्रवाहको बारेमा जानकारी गराएको थियो । वडाले उपलब्ध गराएको विवरण अनुसार वडाको जनसंख्या ७ हजार २ सय ३ जना मध्ये १ वर्ष मुनीका शिशुको जनसंख्या १ सय ५०, १२ महिना देखि २३ महिना सम्मको संख्या १ सय १०, शून्य देखि २३ महिनाको २ सय ६०, शून्य देखि ५९ महिनाको जनसंख्या ५ सय ७५ छ भने ६ महिना देखि २३ महिना सम्मको १ सय ८५ र १० वर्ष माथि १९ वर्ष सम्मको जनसंख्या १ हजार ३ सय ५५ रहेको छ ।

स्वास्थ्य चौकीले दिएको जानकारी अनुसार वडामा गर्भवतीको संख्या १ सय ८३ छ भने आमा सुरक्षा कार्यक्रममा आ.व.२०७७।०७८ मा प्रसुती भएको संख्या ४२ जना र ६० वर्षमाथिको संख्या १ हजार ११ जना रहेको छ ।मधेशा स्वास्थ्य चौकीमा वडा अध्यक्ष कोषराज अधिकारीको अध्यक्षतामा ७ सदस्यीय स्वास्थ्य व्यवस्थापन समिति रहेको छ । त्यसैगरी व्यवस्थापन समितिका उपाध्यक्ष गिरीचन्द्र पोखरेल संयोजक रहेको ३ सदस्यीय एम्बुलेन्स उप समिति रहेको छ । मधेशा स्वास्थ्य चौकीले एम्बुलेन्स सहित बर्थिङ सेन्टर, प्रयोगशाला सहित सुरक्षित मातृत्व लगायतका १४ किसिमका उपचार सेवा तथा कार्यक्रम संचालनमा ल्याउदै आएको छ ।

 


तपाईको प्रतिक्रिया