इनरुवा नगरपालिकाको कार्यालयले व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ता शिविर संचालनमा संचालनमा ल्याएको छ । तीन दिन चल्ने शिविरमा व्यक्तिगत घटना दर्ताका साथै सामाजिक सुरक्षा भत्ता कार्यक्रममा छुट भएका नगरवासीले नाम दर्ता गराउन सक्ने छन् । नगरपालिकाका सूचना अधिकृत निरज पोखरेलका अनुसार वडागत रुपमा संचालन थालिएको शिविर असारको २२ गते सम्म चल्ने छ ।

तोकिएका स्थानमा गएर व्यक्तिगत घटना दर्ता गराउन सकिने उनले बताए । पोखरेलले शिविरबाट सामाजिक सुरक्षा कार्यक्रमसँग सम्वन्धित सेवा समेत लिन सकिने बताए । शिविर वडागत रुपमा पायक पर्ने स्थानमा संचालनमा ल्याइएको उनले जानकारी दिए ।

दर्ता शिविरमा व्यक्तिगत घटना तर्फ जन्म,मृत्यु,विवाह,सम्बन्ध विच्छेद र बसाई सराई दर्ता गराउन सकिने छ ।त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रम तर्फ जेष्ठ नागरिक, एकल महिला, लोपोन्मुख जाति, बालबालिका, अति अशक्त र अपाङ्गता भएका व्यक्तिले तोकिए बमोजिमको सेवाको लागि नाम तथा विवरण दर्ता गराउन सक्ने छन् ।

घटना दर्ता अनिवार्य भएकाले जिम्मेबार नागरिकको दायित्व पुरा गर्न शिविरमा गई विवरण दर्ता गराउन नगरपालिकाले नगरवासीमाझ अनुरोध समेत गरेको छ । उसले कोही नछुटुन र नदोरिउन भन्ने कुरालाई ध्यानमा राखी शिविर संचालनमा ल्याइएको जनाएको छ । दर्ता शिविरको काम भने इनरुवा नगरपालिकासँगको समन्वयमा ग्यालेक्सी कम्प्यूटर पोइन्टले गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया