- अमर काफ्ले

बैंकर्स क्लब इनरुवाले सामाजिक सुरक्षा योजना (सासु) को बिरोध गरेको छ । इनरुवाको बसचोकमा भेला भएका बैंकर्स क्लबमा आवद्ध कर्मचारीहरुले उक्त योजना प्रति सामूहिक रुपमा बिरोध जनाएका हुन् ।

सामाजिक सुरक्षा कोषमा दर्ता हुन गरिएको परिपत्र र तोकेता प्रति असन्तुष्टि जनाउँदै बिरोधमा उत्रिएको उनीहरुले बताए । बिरोधमा उत्रिएका कर्मचारीहरुले सासु योजनालाई विभेदकारी भन्दै खारेजीको माग समेत गरेका छन् ।

कोषले संचालनमा ल्याएको योजना आफुहरुको हीत विपरित रहेको उनीहरुको ठम्याई छ । सासु योजनाले खाइपाइ आएको सुविधा खोसिने र योगदानको अवमूल्यन हुने भन्दै सो योजना आफुहरुकालागि स्विकार्न हुन नसक्ने उनीहरुको भनाई छ ।

ब्यानर र प्लेकार्ड सहित सांकेतिक बिरोधमा उत्रिएका बैंकका कर्मचारीहरुले कोषमा जान जबरजस्ती गरिनु नहुने बताए । उनीहरुले सासु योजनालाई बाध्यकारी र जबरजस्ती नगरी स्वेच्छाचारी रुपले अघि बढाइनु पर्नेमा जोड दिए । बिरोध कार्यक्रममा इनरुवामा रहेका १९ वटा निजी बैंक सम्वद्ध कर्मचारी सहभागी थिए ।सामाजिक सुरक्षा योजना लागु हुँदाको अवस्थामा श्रमिकहरुको आधारभूत तलबबाट ११ प्रतिशत रकम कट्टा गरी रोजगारदाता कम्पनीले २० प्रतिशत रकम थपेर सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्नेछ ।

यस योजना अनुसार १५ वर्षभन्दा कम सेवा गरेका श्रमिकका हकमा उनीहरुले कोषमा जम्मा भएको आफ्नो रकममात्र बुझ्न पाउने छन् भने १५ वर्षभन्दा बढी सेवा गरेका व्यक्ति अवकाश योजनामा सहभागी बन्न पाउने छन् । त्यस्ता श्रमिकले निवृत्तिभरण वा अवकास योजना दुईमध्ये एक रोज्न पाउने छन् । साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएको मजदुरले उमेरका कारण अवकास लिँदा उसले पेन्सन पाउँछ र उसलाई सिधै उपदान लिने वा मासिक पेन्सन लिने भन्ने विकल्प दिइन्छ । यावत विषय समेटिएको योजना सरकारले लागु गर्ने बताएसँगै देशभरका निजी बैंक तथा वित्तिय संस्था आवद्ध कर्मचारीले आफुहरुको हीत विररित रहेको भन्दै बिरोध जनाइ रहेका छन् ।


तपाईको प्रतिक्रिया