यातायात व्यवस्था विभागले असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ। हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो। बुधबार एक सूचना जारी गर्दै विभागले यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढाएको हो यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ। तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ। विगत २०७२ सालदेखि सवारी भाडा यथावत रहेको तर इन्धन सँगै गाडीको पाटपुर्जा, टायर लुब्रिकेन्ट तथा महँगी समेत बढेकाले सो कुरालाई ध्यानमा राखि मूल्य समायोजन गरिएको विभागले जनाएको छ ।


तपाईको प्रतिक्रिया