wilson-660x330

सन् २०११ मा विल्सनलाई फिनल्यान्डमा पक्राउ गरियो । उनले तत्काल प्रहरीसाग ‘फिक्स’ गरे, प्रहरीलाई नै सहयोग गर्ने । त्यसपछि उनले विश्वका फुटबलको क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा भएका आपराधिक क्रियाकलापबारे पनि प्रहरीलाई जानकारी दिन थाले । विल्सनको पुस्तक ‘केलङ किंस’मा ‘ग्याम्ब्लिङ’, फुटबल र ‘म्याच फिक्सिङ’का अनेक कथा लेखिएका छन् । यो पुस्तक लेखनमा सहयोग गरेका एलेसस्यान्ड्रो रिघी र इमान्युएल पियानोले पुस्तकबारे भनेका छन्– यो पुस्तक सुरुदेखि अन्तिमसम्म पढेपछि तपाईं फेरि फुटबल म्याच पहिलेजस्तै गरी हेर्नुहुनेछैन ।

४०औा मर्डेका कपमा नेपाल र सियरा लियोनबीच भएको खेलमा पनि ‘म्याच फिक्सिङ’ गरेको पेरुमलको दाबी छ । उनले पुस्तक ‘केलङ किंस’मा त्यो सन्दर्भमा पनि लेखेका छन् ।

त्यो पुस्तकको त्यो अंशको अनुवाद  :

२००८ को मर्डेका कपको आगामी खेल मोजाम्बिकविरुद्ध मलेसियाको थियो । त्यो म्याचअघि हामीले केटाहरूलाई भियतनामका खेलाडीहरूसँग एउटा कोठामा राख्यौँ । र, उनीहरूलाई म्याचमा के गर्ने–नगर्ने भन्यौँ । खेलाडीहरू सुधारोन्मुख थिए । हामीले सोचेजस्तै भयो । मोजाम्बिकले चार गोलले हार्‍यो । सबै गोल ‘सेकेन्ड हाफ’मा भए । र, म्यानमारविरुद्धको तेस्रो खेलमा उनीहरूले फेरि हारे । त्यो तेस्रो खेलबारे हामीले दिने ‘इन्स्ट्रक्सन’ लिने मान्छे अचानक हरायो । हाम्रो फोन पनि उठाएन ।

मोजाम्बिकले हामीसँग सहकार्य गर्न चाहेन । मैले स्विकार्नैपर्छ, उनीहरूले मलाई समस्यामा पारे । त्यहाँको एक खेलाडीले मात्र अंग्रेजी बुझ्थ्यो, अरू सबैले पर्चुगिज बोल्थे । त्यहाँका सबै खेलाडीहरू मसँग सहकार्य गर्न तयार थिए, तर उनीहरू आफ्नो ‘कोच’लाई बाइपास गर्न पनि चाहँदैनथे । घर फर्किएपछि समस्यामा नपरौँ भन्ने उनीहरूको चाहना थियो । वास्तवमा त्यो ‘स्किम’ पहिलेदेखि नै गलत थियो ।

मैले मोजाम्बिकलाई आफ्नो योजनामा ल्याउनु गलत थियो । तर, हाम्रो आशा अझै थियो । सियरा लियोनको ‘कमब्याक’ हाम्रा लागि राम्रो हुने थियो । उनीहरूले दोस्रो खेलमा अफगानिस्तानविरुद्ध खेले । हामीले केटाहरूलाई ‘ओपन’ फुटबल खेल्न अनुरोध गर्‍यौँ । ‘तिमीहरू जान सक्छौ र चाहन्छौ भने जित्न सक्छौ,’ मैले भनेँ, ‘तर, तिमीहरूले स्कोर गर्ने जम्मा गोल संख्या चार अथवा पाँच हुनुपर्छ ।’

सियरा लियोनका केटाहरू अफगानभन्दा धेरै राम्रा खेलाडी थिए । उनीहरूले कमजोर अफगानको फाइदा उठाए । र, स्कोर गरे– ६–१ । अर्को खेलमा सियरा लियोनले ‘क्वालिफाई’ गर्न जित्नैपर्ने थियो । अन्यथा उनीहरू सेमिफाइनलमा जाने थिएनन् । उनीहरूको खेल नेपालविरुद्ध थियो । र, हामीसँग केही नेपाली खेलाडीहरूको नाम ‘रजिस्टर’मा दर्ता भइसकेको थियो । उनीहरू हाम्रो ‘पेरोल’मा थिए ।

(४०औँ मर्डेका कपको ग्रुप एमा नेपाल, अफगानिस्तान, सियरा लियोन र मलेसियाका टोली थिए । मलेसियाको ‘एमबिपिजे स्टेडियम’मा खेल भएको थियो । नेपालबाट रितेश थापा, चुनबहादुर थापा, विराज महर्जन, विजय गुरुङ, अनिल गुरुङ, विकास मल्ल, नीराजन रायमाझी, जुमानु राई, अञ्जन केसी, राजु तामाङ, सन्दीप राई, भोला सिलवाल, नीराजन खड्का र सागर थापा थिए । अन्तिम खेलसम्म नेपालसँग त्यतिवेला एक अंक मात्र थियो । सियरा लियोनले ६ अंक बटुलिसकेको थियो । त्यो अवस्थामा समूह एबाट सेमिफाइनलमा पुग्न सियरा लियोनले कुनै पनि हालतमा नेपाललाई जित्नैपर्ने थियो । नेपालको भने सेमिफाइनलमा पुग्ने कुनै सम्भावना नै थिएन ।)

मैले अबु बकरलाई फोन गरेँ । (अबु बकर सियरा लियोनको फुटबल टोलीको प्रतिनिधित्व गर्दै म्याच खेल्न पुगेका थिए ।) ‘यहाँ हेर,’ मैले उनलाई भनेँ, ‘तिमीहरूले जित्न सक्नेछौ । हामी त्यो व्यवस्था मिलाउनेछौँ । पहिलो हाफमा ०–० को बराबरी राख्नु । र, दोस्रो हाफमा हामीलाई चार अथवा पाँच गोल चाहिन्छ । यो अत्यन्त सहज छ । नेपालले तिमीहरूलाई स्कोर गर्न दिनेछ । कुनै समस्या हुनेछैन । त्यसैले, जाऊ र स्कोर गर ।’ हामी नेपालसँग सम्पर्कमा आउनुपहिले नै ऊ भ्रष्ट थियो । हामीले उनीहरूलाई ‘एप्रोच’ गर्‍यौँ ।

मलेसियन एजेन्टमार्फत । त्यसपछि नेपालका खेलाडीहरू आफैँ हामीसँग कुरा गर्न आए । नेपालीहरू होचा थिए, साना थिए । कुनै–कुनै केटाहरू त अदमिरको कम्मरसम्मका अग्ला मात्र थिए । अदमिरले उनीहरूलाई बढो आश्चर्यका साथ टाउकोदेखि खुट्टासम्म हेर्‍यो ।

‘तिमी फुटबल खेल्छौ,’ उसले सोध्यो । अदमिर अग्लो छ, मोटो छ, ठूलो छ । ‘के तिमी साँच्चिकै सियोर छौ, तिमी फुटबलर हौ ?’ उसले पत्याउन सकेन, उनीहरू फुटबल खेल्छन् । वास्तवमै उनीहरू फुटबल खेल्नका लागि सुहाउने थिएनन्, अत्यन्त साना थिए । अबु बकरका खेलाडीलाई पहिलो हाफमा गोलरहित खेल्न भन्यौँ । तर, हामीले भनेजस्तो भएन । खेल सुरु भएको १० मिनेटमै सियरा लियोनका खेलाडीले आक्रामक खेल्न थाले । हामी त्यस्तो होस् भन्ने चाहँदैनथ्यौँ ।

सियरा लियोनका केटाहरू गोल गर्न खोजिरहेका थिए । म चिन्तित हुन थालेँ । ‘के गर्दै छन् यिनीहरू,’ मैले सोचेँ, ‘किन उनीहरू मैले दिएको निर्देशन पालना गर्दै छैनन् ?’ झन्डै २० मिनेटमा सियरा लियोनले पहिलो गोल हान्यो । मलाई तनाव बढ्यो । त्यसपछि सियरा लियोनका एक खेलाडीले रातो कार्ड पाए । उनलाई मैदानबाहिर पठाइयो । केटाहरूले खासमा दोस्रो हाफमा ४–० ले खेल जित्नुपर्ने थियो । नेपाल त्यसका लागि तयार भइसकेको थियो । नेपाल पराजय भोग्न तयार थियो । तर, सोचेजस्तो भएन । खेलको ४०औँ मिनेटमा नेपालले पेनाल्टी पायो । गोल पनि गर्‍यो । अब खेल १–१ को बराबरीमा पुग्यो । गोलरहित खेल्नुपर्ने पहिलो हाफमा दुवै टिमले एक–एक गोल गरे । हामीले दुवै टिमसँग सम्झौता गरेका थियौँ ।

दुवै टिम हाम्रो योजनामा परिसकेका थिए । तर, उनीहरूले जस्तो खेले, त्यसले हामीलाई अन्योलमा पार्‍यो । ४५ मिनेटपछि झन् समस्या थपियो, सियरा लियोनसँग १० खेलाडी मात्र भए र नेपाल पनि आफ्नै गतिमा खेल्दै बराबरी गोल फर्कायो । दोस्रो हाफ सुरु भयो ।

नेपाली खेलाडीले ‘नर्मल’ खेल्न थाले । उनीहरूले हामीसँगको सम्झौतामा रहेर नखेलेजस्तो भयो । ‘नर्मल’ खेलिरहेका थिए, उनीहरू । भाग्यवश, खेलको ७५ मिनेटतिर नेपालका एक खेलाडी, जसले हामीसँग सम्झौता गरेका थिए र प्रतिबद्ध थिए, ले ‘राइट ब्याक डिफेन्डर’सँग कुरा गरे । र, उनीहरूले सम्झौताअनुसार खेल्न थाले । त्यसपछि उनीहरूले सियरा लियोनको जितका लागि बाटो खुला गरे । आहा, आहा † खेल ३–१ मा टुंगियो । हामीले त्यो खेल त जित्यौँ, तर सोचेजस्तै ‘क्लियर’ गर्न सकेनौँ । ठूलो जित थिएन त्यो । त्यो खेल सकिएपछि मैले अबु बकरलाई भेटेँ, आफ्ना कुरा राखेँ । ‘देखिस् तैँले,’ मैले बिस्तारै भनेँ ।

‘मलाई लाग्यो, तिमीले हामीलाई झुट बोल्दै थियौ,’ अबु बकरले भन्यो, ‘र, तिमीले हामीलाई यो प्रतियोगिताबाट बाहिर्‍याउन प्रयास गर्दै छौ । त्यसैले, हामीले पहिलो गोल हान्यौ ।’ ‘मैले त हो, तिमीहरूलाई यहाँ ल्याएको,’ मैले फेरि भनेँ । ‘हामी निश्चिन्त हुन चाहन्थ्यौँ, हामी जित्दै छौँ,’ उसले फेरि भन्यो, ‘मलाई लाग्यो– तिमीले हामीलाई डुबाउनेछौ ।’ ‘मूला, तँ,’ मैले टुंग्याएँ, ‘त्यो पहिलो हाफको एक गोलले तिमीहरूले हाम्रो सबै खेल ध्वस्त बनायौ ।’ पहिलो हाफमा भएको त्यो गोलले हामीले चाहेजस्तो समीकरण नआउला भन्ने डर थियो । दोस्रो हाफमा भने हामीले चाहेजस्तो भयो । तर, हामीले चाहेजस्तो पूर्ण रूपमा भएन पनि ।

हामीले त्यो खेलबाट खासै धेरै जित्न सकेनौँ । त्यसैले, हामीले अबु बकर र उसका केटाहरूलाई पैसा तिरेनौँ । तर, अर्कोतिर नेपाली खेलाडीहरूलाई तिर्‍यौँ । त्यो रात अबु बकर, अदमिर, डिनो र म डिनरका लागि कोलालम्पुरमा बाहिर गयौँ । अदमिर र डिनोले अबु बकरसँगको अर्को खेलबारे एउटा गम्भीर छलफल गर्न चाहन्थे । तर, ऊ अचानक चिच्यायो, ‘त्यो ट्विन टावरमा हेर त, कस्तो राम्रो झिलिमिली ।’ डिनोले उसलाई एकोहोरो हेरिरह्यो । ‘धत्,’ ऊ मतिर फर्कियो, ‘हामी म्याच फिक्सिङबारे कुरा गरिरहेका छौँ, अनि ऊ झिलिमिलीबारे कुरा गरिरहेछ ।’

०००

(नेपालले सियरा लियोनविरुद्ध खेलेको यो खेलमा सियरा लियोनका दुई खेलाडीले रातो कार्ड पाएका थिए । खेलको २४औँ मिनेटमा सियरा लियोनका प्रभावशाली खेलाडी अल्फ्रे सानुले रातो कार्ड पाएका थिए । उनले जुमानु राईविरुद्ध ‘फल’ गरेका थिए । त्यस्तै, खेलको ४०औँ मिनेटमा सियरा लियोनका इस्सा कमराले डिबक्स एरियामा अनिल गुरुङविरुद्ध फल गरेका थिए । यो उनको दोस्रो पहेँलो कार्ड थियो । यही फलविरुद्ध नेपालले पेनाल्टी पाएको थियो । त्यो पेनाल्टीलाई जुमानुले गोलमा परिणत गरेका थिए । खेलको बाँकी ५० मिनेटभन्दा बढी समय नौ खेलाडीविरुद्ध मैदानमा उत्रिएको नेपाली टोलीले सहज अवस्थामा पनि गोल गरेन । नेपाली खेलाडीले गरेका पोस्ट प्रहार अत्यन्त फितला थिए । अन्तत: सियरा लियोनको अन्डर–२३ टिमसँग नेपालको राष्ट्रिय टिम पराजित भयो ।) – नयाँपेज बाट

 

तपाईको प्रतिक्रिया