माधुर्यता र प्रेम भावको होली गीत लोप हुँदै

holi

२८ फागुण, जनकपुर । ‘शिव मठ पर राम खेलैए होली……’ वसन्त ऋतुको आगमनसँगै श्रीराम पञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलको घर, गाउँ, टोल र छिमेकमा गाइने यस्ता माधुर्यता र प्रेमभावयुक्त होली गीत गाउने मानिसको अभावको कारण यस्ता गीत लोप हुँदै गएको छ ।

पूर्वी धनुषाको खजुरी गाउँ बस्ने ६० वर्षीय राम अधीन पुर्खौली मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी हुनुहुन्छ । पहिले पहिले वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँगाउँ टोलटोल घुमेर फागु पर्वको आगमन भएको सन्देश यस्ता गीत गाएर दिने परम्परा रहेको थियो । तर अब गाउँका युवा वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जाने क्रम बढेपछि गीत गाउने बूढापाकाको अभाव खट्किएको छ । अहिले न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्ने गर्छ न त फागु गीत नै गाइन्छ ।

उदास हुँदै वृद्ध राम अधीन भन्नुहुन्छ – “होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, पिरती तथा उन्मुक्ति हुन्थ्यो । तर अब भोजपुरी तथा उच्छृङ्खल गीत आएकाले माधुर्यता र प्रेमभाव मिसिएको होली गीत बिरलै सुन्न पाइन्छ ।” पूर्वी धनुषाका लक्कर बस्ने ५५ वर्षीय लक्ष्मी प्रसादको गुनासो रहेको छ – “जोगिरा सर….र……र, कौन ताल पर ढोलक बाजे, कौन ताल पर मृदङ्ग…….., कौन ताल पर गौरिया नाचे, कौन ताल पर हम ….जोगिरा सर ….र..र..र….” गीत सुन्न नै दुर्लभ भइसक्यो । मृदङ्ग, ढोल, डम्फाको स्वर पनि सुन्न पाइँदैन ।”

सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले लक्ष्मी प्रसादलाई मात्र होइन महोत्तरी जिल्लाको रामगोपालपुर बस्ने चन्देश्वरलाई समेत प्रभाव पारेको छ । उहाँ भन्नुहुन्छ – “होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झैँझगडा, राग, द्वेषका कारण होली गीत गाउन नै छाडिएको छ ।” भनिन्छ होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । अबको होली होली नभएर भोगवादी र सहरमुखी होली हुन पगेको छ र पौराणिकतासँग जोडिएको होली गीत लोप भइरहेका छन् ।

पहिले पहिले बूढापाका रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल लिएर समूहगत रुपमा होली गीत जोगिरा गाउने गर्दथे । बेला बस्ने मोहम्मद इसराइल भन्नुहुन्छ – “तर अब त्यो समय हराएर गएको छ । अधिकांश युवा कामका लागि अरब मुलुक गएकाले होली गायन हराउँदै गएको देखिन्छन् ।” अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यतापूर्ण होली बन्न पुगेकाले भाङ्गको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा राग, द्वेष देखापरेको इसरायलको भनाइ छ ।

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै विस्तारै हराएर गएको छ । पहिलेको होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । तर अहिले बजारमा पाइने भोजपुरी गीतको सिडी चक्काका गीतमा अश्लीलता र फोहरी शब्द बढी हुन्छ । मिथिलाको सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा ग्रामीण परम्परा र माटो बास्ना पाइने संस्कृतिविद्हरुको दाबी छ ।

पौराणिक होली गीत विषय, वासना, प्रेमालाप, सीताराम, शिवपार्वतीमा केन्द्रित भएर गाइन्छ । तर अबको होली गीतमा पश्चिमी सभ्यता र उच्छृङ्खलताको बाहुल्यता छ । मिथिला क्षेत्रमा काम गर्ने संस्थाहरु अगाडि आएर यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने माग जनकपुरवासीको छ । जनकपुरवासी एकै स्वरमा भन्छन् – “होली यस्तो हुनुपर्छ जसमा महिला निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीका लागि जनकपुरलाई एउटा आदर्श नै बनाओस् ।” नेपालसंदेशबाट

 

 

तपाईको प्रतिक्रिया