All_Nepal_Football_Associationफिफाले एन्फा अध्यक्ष गणेश थापालाई १० वर्ष फूटबलसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै क्रियाकलापमा सहभागी हुन प्रतिबन्ध लगाएको छ। यो सँगै एन्फाको अबको नेतृत्वको विषयमा प्रश्न उठेको छ। एन्फाले साधारणसभाबाट निर्वाचित भएका वरिष्ट उपाध्यक्ष रहेका कर्मा छिरिङ शेर्पा लगायतलाई एन्फा कार्यसमितिले निलम्बन गरिसकेको छ। शेर्पासँगै विजयनारायण मानन्धर र किशोर राईलाई समेत गत असोज ११ मा निलम्बन गरिएको थियो। त्यस्तै २०७१ कात्तिक ३ गते संसदको लेखा समितिको निर्देशन पछि थापाले कार्यवाहक जिम्मेवारी दिएका ललितकृष्ण श्रेष्ठको दुर्घटनामा निधन भइसकेको छ। श्रेष्ठको निधन पछि रिक्त स्थानमा एन्फाको कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै निलम्बनमा परेको स्थानमा पनि नियुक्ति भइसकेको छ। एन्फामा हाल श्रेष्ठसँगै मणि कुँवर, वीरबहादुर खड्का, सन्तोष बानियाँ उपाध्यक्ष रहेका छन्। एन्फाका सिइओ इन्द्रमान तुलाधरले भने कार्यवाहकको जिम्मेवारी यसअघि कात्तिक २२ गते नै अध्यक्ष थापाले नरेन्द्र श्रेष्ठलाई दिएको जानकारी दिए। तर नयाँ परिस्थितिमा कार्यसमिति बैठक बसेर निर्णय गरिने बताए। ‘कार्यसमितिमा बैठक बसेपछि टुङ्गो लाग्छ। हामीले तयारीका लागि छलफलका लागि केन्द्रीय सदस्य बोलाएका छौँ तर विधान अनुसार बैठक बोलाउन १४ दिनको समय लाग्छ’, तुलाधरले भने, ‘आकस्मिक बैठकको प्रावधान छैन, कार्यसमिति बैठकले नै थप टुङ्गो लगाउँछ।’ वरिष्ठ उपाध्यक्षमा मनोनयन भएका र कार्यवाहकको जिम्मेवादी दिइएका श्रेष्ठ एनआरटी क्लबका पूर्वअध्यक्ष हुन्। थापाप्रति वफादार हुँदै नेपाली फुटबललाई गद्दारी गरेको आरोपमा उनलाई एनआरटीले अध्यक्षबाट हटाएको थियो। यद्यपि उनलाई कार्यवाहक अध्यक्ष बनाउनेदेखि साधारण सभाबाट चुनिएका वरिष्ठ उपाध्यक्षहरुलाई हटाउनेसम्मका कामकारबाहीहरु गणेश थापा पछिल्लो पटक निलम्बित हुँदाको अवधिपछि भएको हुँदा त्यसयताका सबै कामकारबाहीलाई फिफा र एएफसीले अमान्य घोषणा गर्नसक्ने सम्भावना पनि छ। पहिलोपोस्टबाट

तपाईको प्रतिक्रिया