धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।रावललाई समर्थन गरेको सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेबारे प्रष्ट निर्णय लिन नसक्दा मुख्यमन्त्रीले ढिलोगरी विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीको विश्वासको मत लिन केही घण्टा मात्र बाँकी रहेको अवस्थामा समेत नाउपाले प्रष्ट निर्णय अझै लिएको छैन भने प्रदेश सभाका ७ जना सांसद काठमाडौंबाट फर्किएका छैनन् । पार्टीका संस्थापक रेशम चौधरीलगायतका जेलबन्दीको रिहाइको माग गर्दै आएको नाउपाले माग सम्बोधन नभएका कारण विश्वासको मत दिन नसकिने बताउदै आएको छ तर आधिकारीक निर्णय भने गरिएको छैन् ।

काठमाडौंमा रहेका नाउपा सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले प्रदेश सरकारले आफूहरुका माग मुद्दा सम्बोधनमा उद्दारता देखाएकाले विश्वासको मतबारे यस्तै हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए  । उनले बुधबारको प्रदेशसभा बैठकमा सहभागी हुनेगरी धनगढी फर्किने तयारी रहेको बताउदै संसदीय दलको बैठकबाट प्रदेश सरकारबारे निर्णय लिइने जानकारी दिए । अर्का सांसद खुसीराम डगौरा थारुले पनि माग मुद्दा सम्बोधनमा प्रदेश सरकारले भूमिका खेल्न नसकेको बताउदै विश्वासको मतबारे सोच्नुपर्ने अवस्था आएको बताए ।

मुख्यमन्त्री रावललाई नाउपाले विश्वासको मत नदिएमा सुदूरपश्चिममा उनी नेतृत्वको सरकार संकटमा पर्नेछ । रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ जना प्रदेश सभा सदस्यको समर्थनमा २७ पुसमा मुख्यमन्त्री भएका थिए । नाउपाले मत नदिएको अवस्थामा भने उनी सभामुख बाहेक एमाले, माओवादी र राप्रपाका २१ जना सांसदको मत पाउनेछन् । जुन सरकार टिकाउन आवश्यक पर्ने २७ मा ६ जना प्रदेश सभा सदस्यले कम हो । तर एमाले र माओवादी केन्द्र भने नागरिक उन्मुक्ति पार्टीका माग मुद्दा सम्बोधनको प्रक्रियामा अघि बढिसकेकाले मुख्यमन्त्रीलाई नाउपाले विश्वासको मत दिनेमा विश्वस्त देखिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia