काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले संसदीय दललाई निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए । ‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता हो, यो गठबन्धन टुट्नु हुँदैन, त्यसैले विश्वासको मत दिनू भनेर केन्द्रबाट निर्देशन आएको छ,’ भट्टले भने ।

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले शनिबारै अध्यक्ष प्रचण्डलाई गराएका थिए । मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालयको भागबन्डा प्याकेजमा हुनुपर्ने भट्टको माग थियो । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । अब त्यसको औपचारिक निर्णय सुदूरपश्चिम संसदीय दलको बैठकले गर्ने छ । संसदीय दलका नेता खगराज भट्टले भागबण्डा पनि केन्द्रबाटै टुंगिएको बताउँदै अब संसदीय दलको बैठकले निर्णय गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने सहमति शीर्ष तहमा जुटिसकेको बताए ।सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेले भने शाहलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia