जुम्ला । स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन् । जुम्ली किसानको मुख्य आम्दानीको स्रोत स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर स्याउ किसानलाई चिन्तित बनाएको तिला गाउँपालिका-१ का नर रावतले बताए । “कीराको सङ्क्रमण स्याउ बगैँचामा फेला पर्ने बित्तिकै कृषि प्राविधिकको परामर्श लिने गरेको छु । सिँचाइ, मलखादको चिन्ता छैन ।”, तिला गाउँपालिका-२ स्याउ किसान दलबहादुर रावतले भने, “रोग कीराबाट स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको छ । स्याउ बगैँचामा बिरुवा रोप्न जति सजिलो छ, त्यसभन्दा बढी बिरुवा हुर्काएर स्याउ फलाउन कठिन छ ।”
उनले भने, “वर्षैपिच्छे कुनै न कुनै रोग कीराको सङ्क्रमण भइरहेको हुन्छ । त्यसैले वर्षभरि नै रेखदेख गरिराख्नुपर्छ ।” बगैँचामा गत वर्ष भुवादार लाइकीरा र कत्ले कीराको प्रकोप देखिएको थियो । तर, समयमै पत्ता लागेकाले विषादी प्रयोग गरी त्यसलाई निर्मूल पारेको स्याउ किसान रावतको भनाइ छ । जिल्लाका अधिकांश स्याउ बगैँचाका बोटमा सो समस्या देखापरेको जनगुनासो आउने गरेको यहाँका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । जुम्ली स्याउमा बर्सेनि रोग कीराको सङ्क्रमण देखिँदा उत्पादनमा ह्रास आएको तातोपानी गाउँपालिकाका स्थानीयवासी पूर्णप्रसाद चौलागाईंले जानकारी दिए।
बागवानी अनुसन्धान केन्द्र जुम्लाका अनुसार स्याउको बिरुवा रोप्नु पहिले भाले र माउ जातको स्याउको बिरुवा स्पष्टरूपमा छुट्याउनुपर्ने जनाएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक वर्ष रोग कीराका कारण करीब ४० प्रतिशत स्याउका बिरुवा नष्ट हुने गरेको कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिए । जिल्लाभरि चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।