२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको राती १२:५० मिनेटमा निधन भएको छ । वहां क्यान्सर रोगबाट पिडित हुनु हुन्थ्यो । बिहान ८ बजेबाट वहांको पार्थिव शरिर श्रद्धान्जलीको लागि पार्टी कार्यलय राखिने जनाईएको छ ।
फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा राति १२ः५० बजे उहाँको निधन भएको नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो । कोइराला विगत केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहँदै आउनुभएको थियो । लामो समयदेखि अर्बुद रोगको उपचार गराइरहनुभएका कोइराला ७६ वर्षका हुनुहुन्थ्यो ।
मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहोरात्र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । उहाँलाई नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा पार्टी सभापतिका प्रत्यासीका रुपमा हेरिएको थियो ।
संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले उहाँ २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बन्नुभएको थियो ।
बुबा बोधप्रसाद र माता कुमुदिनी कोइरालाको सन्तानका रुपमा १९९६ साउन २८ गते (सन् १९३९ अगष्ट १२) मा मोरङको विराटनगरमा जन्मनुभएको थियो ।
स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला राति नै कोइराला निवास पुग्नुभएको थियो ।
यसैबीच सभापति कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले बिहान ८ः०० बजेसम्म निवासमै राखिने भएको छ ।
बिहान ८ः०० बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि श्रद्धाञ्जलिका लागि दशरथ रङ्गशालामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।