इनरुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका २ स्थित घुस्कीमा बिहिबार मुस्लिम अगुवासंगको भेघटाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।
राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको उहाँले उल्लेख गर्नुभयो । मुस्लिम समुदायको अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादीलाई बलियो बनाउनुपर्नेमा उहाँ जोड दिनुभयो ।
उत्पीडित उपेक्षित समुदायको सहभागीतामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।
अहिले जनताले पाएको अधिकार बढी भएको ठूला भनौदा दललाई लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको उल्लेख गर्नुहुदै जनताको अधिकार विरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्ने प्रचण्डले दावी गर्नुभयो । आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने उल्लेख गर्नुहुदै अभियानले दक्षिणी सिमावर्ती नेपालका समस्या राष्ट्रिय समस्याको रुपमा अघि बढाउने बताउनुभयो ।
हरिनगर–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाले अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन र बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने माग राख्दै त्यसमा ध्यानदिन आग्रह गरेको स्थानीय दिल मोहमत मियाँले बताउनुभयो ।
सत्ता बाहिर आएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजदेखि ’तराई मधेश जागरण अभियान’ सुरु गरेको चौथौ दिन सुनसरीको घुस्की पछि गढी र इनरुवाको कार्यक्रम गरेको छ ।
उता गढीमा आयोजित कार्यक्रममा प्रचण्डले सरकार भ्रष्टाचरीको संरक्षणमा लागेको आरोप लगाउनुभयो । संविधानले दिएको अधिकार खोस्ने सडयन्त्रमा लागेको र सुशासन तथा सदाचारको अपरहण गरि भ्रष्टाचारको संरक्षणमा लागेको दावी गर्नुभयो ।
त्यसैगरी इनरुवा नपरपालिकाको जल्पापुरमा नेकपा माओवादी केन्द्र इनरुवा नगर सम्मेलनको उद्घाटन गर्नुहुदै देशमा माओवादी बाहेकका दलले जतनाको हितमा भन्दा पार्टी र पार्टीका कार्यकर्ता हितमा लिप्त भएको दावी गर्नुभयो । उहाँले देशको विकासका बाधन नै अहिलेको सत्ता दलहरु भएको आरोप लगाउनुभयो ।
त्यसैगरी बर्जु तालको कार्यक्रममा दाहालले पर्यटकीय स्थानका रूपमा उच्च सम्भावना भएको बर्जु तालबाट नेपालको सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष दाहाल सहित बरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उप–महासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेतृ पम्फा भुसाल लगायतका दर्जन बढी शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिगमनको खतरा विरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तराई मधेश जागरण अभियान सञ्चालन गरेको पार्टीका उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले बताउनुभयो ।