सन् २०१४ मा साउदी अरबमा सवारी दुर्घटनामा ज्यान गुमाएका सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–७ घुस्की निवासी नजाम अन्सारीको परिवारले सामाजिक सुरक्षा बीमा अन्तर्गत १८ लाख रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेको छ।
वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका अन्सारीको कार्यरत अवस्थामा सवारी दुर्घटनामा निधन भएको थियो। घटनापछि लामो समयसम्मको प्रयास र प्रक्रियापछि अन्ततः उनका परिवारले बीमा सुविधा पाएका हुन्।
उक्त क्षतिपूर्ति उपलब्ध गराउन साउदी अरबस्थित नेपाली राजदूतावासका कर्मचारी सद्दाम हुसैनले समेत महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए। हुसैनका अनुसार साउदी सरकार अन्तर्गतको General Organization for Social Insurance (GOSI) सँग समन्वय तथा सहजीकरण पश्चात उक्त बीमा रकम मृतकका परिवारले पाएका हुन्। हुसैन सुनसरीको हरिनगर १ निवासी हुन उनी लामो समय देखी साउदी अरबमा कार्यरत छन्।
मृतक अन्सारीका परिवारले प्राप्त आर्थिक सहयोगले केही हदसम्म राहत मिलेको महसुस गरेका हुसैनले बताए। तथापि, निजको मृत्यु सवारी दुर्घटनाबाट भएकाले ब्लड मनी (Blood Money) बापत प्राप्त हुनसक्ने थप क्षतिपूर्ति अझै अन्योलमा रहेको परिवारजनले बताएका छन्। सो सम्बन्धमा आवश्यक पहल गरिदिन सम्बन्धित निकायलाई परिवारले अपिल गरेको छ।








