इनरुवा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह र कोशी गाउँपालिकाको सिमानामा रहेको खुनिया पुल नजिकै बिहीबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको यात्रुवाहक बसले सडक छेउमा बिग्रिएर रोकिएको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुषको जिल्ला अस्पताल इनरुवामा र एक महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैजनाको पहिचान भने खुल्न बाँकी छ। घाइते १० जनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको डिएसपी खतिवडाले जानकारी दिए।








