सुनसरीको कोसी गाउँपालिका–१ लौकहीमा गएराति सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएपछि बिहीबार बिहानदेखि लौकही बजार तनावग्रस्त बनेको छ। गएराति करिब १ बजे कोसी गाउँपालिका–१ लौकहीस्थित पुरी टोलमा गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले जानकारी दिनुभयो। घटनास्थल नेपाल–भारत सीमा क्षेत्रबाट करिब २ सय मिटर नेपालतर्फ सशस्त्र प्रहरी बेस क्याम्प (बीओपी) लौकही नजिकै रहेको छ। घटनास्थलबाट दुई वटा गोलीका खोका फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयवासी तथा कोसी गाउँपालिकाका कार्यपालिका सदस्य राजु साहका अनुसार सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बसेर जनताको सुरक्षा गर्नुपर्नेमा दैनिक रूपमा तस्करसँग सेटिङ गरेर लाइन दिने गरेको र पैसा नदिएको झोकमा सशस्त्र प्रहरीका जवानले गोली हानेको आरोप छ।

कोसी गाउँपालिका–१ का नन्दन गुप्ताका अनुसार मृतक साहले प्रदेश १–०२–००३ ह ३३१७ नम्बरको सिटी सफारीमार्फत एक पटक चिनी ल्याउँदा सशस्त्र प्रहरीलाई १ हजार रुपैयाँ दिएको र दोस्रो पटक चिनी लिएर आउँदै गर्दा पैसा नदिँदा गोली प्रहार गरिएको हो। सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका केही जवानले तस्करसँग सेटिङमा लाइन दिने गरेको समेत उहाँको आरोप छ।

घटनापछि आक्रोशित स्थानीयले लौकही बजारमा शव राखेर प्रदर्शन गरिरहेका छन्। प्रत्यक्षदर्शी कोसी गाउँपालिका–१ का देबकृष्ण यादवका अनुसार सशस्त्र प्रहरीले गोली प्रहार गरी एम्बुलेन्समा लैजाँदै गर्दा स्थानीय समूहले रोकेको थियो। यादवले सशस्त्र प्रहरीको सल्लाहमै राति १ बजे भारतीय बजारबाट चिनी तथा अन्य सामग्री तस्करी गरी नेपाली बजारमा ल्याइने गरेको र पैसा नदिएको झोकमा गोली प्रहार गरी हत्या गरिएको आरोप लगाउनुभयो।

आक्रोशित स्थानीयवासीले लौकही बजारस्थित सशस्त्र प्रहरीको चेकपोष्टमा तोडफोड तथा आगजनी गर्नुका साथै पूर्व–पश्चिम लोकमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्। यता सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले भने क्रस फायरिङको क्रममा गोली चलाउनु परेको बताउनुभयो। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन्।

पीडित पक्ष र प्रशासनबीच छलफलका लागि समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia