इनरुवा। विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक आज बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुने सबै सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ का एउटै बस्तीका बासिन्दा हुन् । मृत्यु हुनेमा ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।
प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार ट्रकको अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडि पाँच जना सवार थिए । दुर्घटनाका क्रममा पछाडि बसेका पाँच जनालाई मार्बलले किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
क्याबिनमा सवार तीन जना घाइतेको विराटनगरस्थित नसिंह होममा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।








