इनरुवा। सुनसरीको कोशी गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष दासलाई सामुदायिक कुकुरलाई कुटपिट गरी मारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार फागुन २४ गते बिहान करिब ६ बजे दासले आफ्नो मकैबारीमा आएको भन्दै एउटा सामुदायिक कुकुरलाई लठ्ठीले कुटपिट गरी मारेको भन्ने जाहेरी परेको थियो।
सोही आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनलाई फागुन २७ गते दिउँसो ३:२० बजे आफ्नै घरबाट पक्राउ गरेको हो।
जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पशुपक्षी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








