रामधुनी नगरपालिका, सुनसरीमा पुनः एकीकरण योजना (ReMi) अन्तर्गत GALS अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्र २४ र २५ गते रोजगार सेवा केन्द्रको आयोजनामा आयोजित दुई दिने कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै सामाजिक, आर्थिक तथा मनोसामाजिक पुनः एकीकरणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको हो। वडा नं. ५ का अध्यक्ष लेखनाथ वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई GALS (Gender Action Learning System) विधि मार्फत आफ्नो भविष्य लक्ष्य निर्धारण, वर्तमान अवस्थाको विश्लेषण, अवसर र चुनौती पहिचान तथा दिगो योजना निर्माण गर्ने अभ्यास गराइएको थियो।

कार्यक्रममा ‘सुनौलो सपनाको यात्रा’ र ‘खुसी परिवारको रुख’ जस्ता अभ्यासमार्फत सहभागीहरूले व्यक्तिगत तथा पारिवारिक स्तरमा लैङ्गिक सन्तुलन, आय–व्यय व्यवस्थापन, जिम्मेवारी बाँडफाँड र निर्णय प्रक्रियामा समान सहभागिताको महत्वबारे सिकेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूलाई नेपालमै स्थायी रूपमा बसोबास गर्न सक्षम बनाउँदै उनीहरूको सामाजिक र आर्थिक सशक्तीकरण गर्नु रहेको थियो।

कार्यक्रमको पहिलो चरणमा १५ जना फर्किएका कामदारहरूको एक वर्षे पुनः एकीकरण योजना तयार गरिएको छ। ReMi परियोजनाका अधिकृत शान्ती दनुवारका अनुसार पाँच चरणमार्फत कुल ७५ जना लाभग्राहीको योजना निर्माण गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका, दाङकी अनुभवी सहजकर्ता द्रौपदी सुवेदीले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia