इनरुवा। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा निर्माण सम्पन्न लौकही सिटी हलको उद्घाटन गर्दै विकास निर्माणका योजनालाई सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ग्रामीण क्षेत्रमा आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु स्थानीय पूर्वाधार विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले लौकही सिटी हलले स्थानीय समुदायका सामाजिक, सांस्कृतिक तथा प्रशासनिक गतिविधिलाई सहज बनाउनुका साथै विकासको नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति पौडेलले यस परियोजनालाई तीन तहका सरकारबीचको समन्वय र सहकार्यको सफल नमुना भन्दै यस्ता पूर्वाधारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई व्यवहारमा कार्यान्वयन गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले गुणस्तरीय सेवा प्रवाह, विकास निर्माण र जनअपेक्षाअनुसारका कार्यक्रम सञ्चालनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा राष्ट्रपति पौडेलले सप्तकोशी आसपासको क्षेत्र ऐतिहासिक, धार्मिक र पर्यटनको दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध विकास गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। साथै, २०६५ सालको कोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना र विकासका गतिविधि तीव्र बनेकोमा खुशी व्यक्त गर्दै विपद् जोखिम न्यूनीकरणका पूर्वतयारीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।


कार्यक्रममा हिक्मतकुमार कार्कीले लौकही सिटी हल बहुउपयोगी संरचना भएकाले यसको संरक्षण र प्रभावकारी उपयोगमा सबै पक्षको साझा दायित्व रहने बताउनुभयो। कार्यक्रममा सङ्घीय तथा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।








