इनरुवा। साउन महिनाको पावन अवसरमा महिला दिदीबहिनीहरूका लागि निःशुल्क मेहन्दी लगाउने कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, इनरुवा नगर कमिटी र इनरुवा इन्टरनेशनल पोलिटेक्निकल ईन्स्टिच्युट प्रा.लि.को संयुक्त आयोजनामा उक्त कार्यक्रम आज साउन महिनाको पहिलो दिन सम्पन्न भएको हो।

आज शुक्रबार एक दिने नि:शुल्क मेहन्दी लगाउने कार्यक्रम इनरुवा १ दुहबी रोडमा रहेको इनरुवा इन्टरनेशनल पोलिटेक्निकल ईन्स्टिच्युटमा सम्पन्न भएको हो।

कार्यक्रममा इनरुवा नगरपालिकाकी उप-प्रमुख विनिता कुमारी मेहता प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। साथै विभिन्न विशेष अतिथि, स्थानीय अतिथिहरू लगायत क्षेत्रका दर्जनौं महिलाहरूको सहभागिता रहेको थियो।

सहभागी दिदीबहिनीहरूले हातमा मेहन्दी लगाई साउन महिनाको उत्सव मनाउदै साउन महिनाको शुभकामना समेत आदान प्रदान गरिएको थियो।

कार्यक्रमको सफल सम्पन्नताका लागि आयोजक समिति र सहयोगी संस्थाहरूले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। आयोजकका अनुसार आज साँझ सम्म मेहन्दी लागाउने कार्यक्रम जारी रहने जनाएको छ।









