इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घण्टे कम्प्युटर अपरेटर तालिम कार्यक्रमका लागि सहभागी छनौट प्रक्रियाको अन्तर्वार्ता आगामी २०८२ चैत्र २६ गते (भोलि) बिहान १०:३० बजेदेखि हुने भएको छ। उक्त तालिमका लागि इनरुवा नगरपालिकाले २०८२ चैत्र ०६ गते सहभागी माग सम्बन्धी विज्ञापन प्रकाशन गरेको थियो।

माग भन्दा छ गुणा बढी आवेदन

नगरपालिकाका रोजगार संयोजक आशिष भट्टराईका अनुसार तालिममा सहभागी हुन जम्मा १२६ जनाको आवेदन प्राप्त भएको छ। तर व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले निर्धारित छनौट मापदण्डका आधारमा केवल २० जनालाई मात्र छनौट गरी तालिम सञ्चालन गर्ने भएकाले भोलि अन्तर्वार्तामार्फत योग्य सहभागीहरू छनौट गरिनेछ।

सीपमूलक तालिमको बढ्दो माग

निर्धारित सिटभन्दा झण्डै छ गुणा बढी आवेदन परेको यस तथ्यले वर्तमान समयमा यस्ता सीपमूलक तथा रोजगारमूलक तालिम कार्यक्रमप्रति युवाहरूमा उच्च चासो र आवश्यकता रहेको स्पष्ट देखिन्छ। सर्वसाधारणको भनाइ अनुसार यस्ता कार्यक्रमको अझ व्यापक विस्तार हुनु जरुरी छ।

जनताको प्रत्यक्ष जीवनस्तर र रोजगारीसँग जोडिएका यस्ता कार्यक्रममा नगरपालिकाले थप सक्रिय पहलकदमी लिनुपर्ने देखिन्छ, ताकि बढी भन्दा बढी युवाहरूले यस्ता अवसरको लाभ उठाउन पाउन सकून्।

व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी र इनरुवा नगरपालिकाको संयुक्त पहलमा सञ्चालन हुने यो तालिम कार्यक्रमले स्थानीय युवाहरूको सीप विकास र रोजगारी प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia