इनरुवा । जेसीआई इनरुवाको आयोजनामा स्थानीय धावकहरूलाई लक्षित गरी “जेसीआई इनरुवा १.५K मिनी म्याराथन” सञ्चालन हुने भएको छ। “वी आर रेडी इनरुवा!” भन्ने मूल नाराका साथ आगामी २०८३ मंसिर १३ गते बिहान ७:०० बजे टेम्पो स्ट्यान्डबाट सुरु भई साखुवागाछीसम्म पुग्ने गरी दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो।
स्थानीय प्रतिभाको प्रवर्द्धन तथा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा इनरुवाका स्थानीय बासिन्दाले मात्र सहभागिता जनाउन पाउनेछन्। १६ वर्ष वा सोभन्दा माथिका इच्छुक धावकहरूका लागि खुला गरिएको उक्त दौडमा सहभागी हुन रु. १०० दर्ता शुल्क तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना धावकहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार प्रथम हुनेले रु. ५,०००, द्वितीयले रु. ४,०००, तृतीयले रु. ३,०००, चौथोले रु. २,००० र पाँचौँ स्थान हासिल गर्नेले रु. १,००० प्राप्त गर्नेछन्। आयोजक जेसीआई इनरुवाले इच्छुक सम्पूर्ण नगरवासीलाई समयमै नाम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।








