इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज विभिन्न धार्मिक गुरुहरु संग बसेको बैठकले जिल्लामा धार्मिक सद्भाव कायम राख्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले मिति २०८३।०४।१० गते कप्तांगञ्ज बजारमा भएको दुःखद घटनापछि सिर्जित साम्प्रदायिक मनमुटाव अन्त्य गर्दै शान्ति र सद्भाव कायम गर्न सबै धार्मिक समुदायलाई आह्वान गरेको छ। साथै, मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र व्यक्तिगत घर बाहेकका सार्वजनिक स्थान तथा सडक-खण्डहरूमा राखिएका एकल जातीय, धार्मिक वा साम्प्रदायिक पहिचान झल्काउने झण्डा-ध्वजापताका हटाउने निर्णय गरिएको छ।

बैठकले स्वीकृतिविना सार्वजनिक स्थलमा डिजे/माइक बजाई सर्वसाधारणलाई बाधा पुर्याउन नपाइने र सर्वोच्च अदालत तथा नेपाल सरकारले तोकेको ध्वनि मापदण्ड (ग्रामीण क्षेत्रमा दिन ४५ र रात ४० डेसिबल, शहरी क्षेत्रमा दिन ५५ र रात ५० डेसिबल) पालना गर्नुपर्ने निर्णय पनि गरेको छ। अन्त्यमा, जिल्लामा कायम आपसी सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउन सर्वपक्षीय प्रतिबद्धता जनाइएको छ।









