इनरुवा — सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले दैनिक रूपमा भोग्नुपरेको कष्टकर यातायात समस्या समाधान गर्ने दिशामा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले क्याम्पसका लागि बस सुविधा उपलब्ध गराउने सकारात्मक प्रतिबद्धता जनाएका छन्, साथै इनरुवालगायत विभिन्न स्थानीय तह र कोशी प्रदेश सरकारबाट क्याम्पसका लागि कुल रु. ७५ लाख बराबरको आर्थिक सहयोगको प्रतिबद्धता तथा अनुदान प्राप्त भएको छ।

सुनसरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लिला कुमारी आपागाईका अनुसार, क्याम्पसका विद्यार्थीहरूले दैनिक भोग्नुपरेको यातायात समस्या इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीसमक्ष राखिएपछि उनले यसलाई गम्भीरतापूर्वक लिँदै विद्यार्थीहरूको सहज तथा सुरक्षित आवागमनका लागि बस उपलब्ध गराउनेतर्फ आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

यसैगरी क्याम्पसलाई विभिन्न स्थानीय तह र प्रदेश सरकारका जनप्रतिनिधिहरूबाट समेत आर्थिक सहयोगको प्रतिबद्धता प्राप्त भएको छ। इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीबाट रु. २५ लाख, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीबाट रु. १० लाख, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादबाट रु. १० लाख र कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीबाट रु. १० लाख बराबरको प्रतिबद्धता व्यक्त गरिएको छ।

साथै कोशी प्रदेश सरकारका निवर्तमान उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको पहलमा प्रदेश सरकारबाट रु. २० लाख अनुदान समेत प्राप्त भएको जनाइएको छ। यी सम्पूर्ण जानकारी सुनसरी बहुमुखी क्याम्पस संचालक समिति सदस्य सेराज हुसैनद्वारा दिइएको हो।

क्याम्पस प्रमुख आपागाईले विद्यार्थीको सहजता, सुरक्षित आवागमन र शिक्षामा पहुँच सुनिश्चित गर्न विभिन्न पक्षबाट देखाइएको यस्तो सकारात्मक सहयोग र सहकार्यप्रति क्याम्पस परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभएको छ। विद्यार्थीको हितमा गरिने यस्ता प्रतिबद्धताले क्याम्पसको शैक्षिक यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास लिइएको छ।








