काठमाडौँ । नेपालमा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत गर्न सरकारले दिएको सात दिनको समयसीमा गएराति सकिएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार अहिलेसम्म फेसबुक, एक्स (ट्विटर), युट्युब जस्ता ठूला सामाजिक सञ्जालहरूले दर्ता प्रक्रिया पूरा गरेका छैनन् ।

मन्त्रालयले भदौ १२ गते सूचना जारी गर्दै सबै सामाजिक सञ्जाललाई अनिवार्य रूपमा सात दिनभित्र सूचीकृत हुन निर्देशन दिएको थियो । यो निर्णय सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको आदेशअनुसार मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकबाट आएको हो । मन्त्रालयले यसअघि चार पटक सूचना जारी गरे पनि ठूला प्लेटफर्महरूले कुनै चासो देखाएका थिएनन् ।

हालसम्म टिकटक, भाइबर, निम्बुज, विटक र ओपोलाइट नेपालमा दर्ता भइसकेका छन् भने टेलिग्राम र ग्लोबल लिंकले दर्ता प्रक्रिया सुरु गरेको मन्त्रालयले जनाएको छ । तर प्रयोगकर्तामध्ये सबैभन्दा बढी लोकप्रिय फेसबुक, एक्स र युट्युब जस्ता प्लेटफर्म अझैपनि सूचीकृत नभएकाले आगामी कदमबारे सरकारलाई चुनौती थपिएको छ ।

समयसीमा सकिएपछि सरकारले आजै सामाजिक सञ्जाल बन्द गर्ने वा नगर्नेबारे निर्णय लिने तयारी गरेको छ । मन्त्रिपरिषद्को अघिल्लो निर्णयअनुसार तोकिएको समयभित्र दर्ता नगर्ने प्लेटफर्महरूलाई निष्क्रिय गर्न सकिने संकेत गरिएको छ । यसले नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको पहुँच र संचार अभ्यासमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia