नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता दैनिक समस्याबाट प्रयोगकर्तालाई मुक्ति दिलाउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
पुरानो प्रविधिको तुलनामा चार गुणासम्म बढी कार्यक्षमता दिने वाइफाइ ६ ले लेटेन्सी उल्लेखनीय रूपमा न्यून बनाउँछ। डिजिटल प्रयोग तीव्र रूपमा बढ्दै जाँदा घरभित्र एकैसाथ धेरै उपकरण सञ्चालन गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर यो प्रविधि डिजाइन गरिएको हो। यसले गर्दा परिवारका विभिन्न सदस्यले एकैसाथ भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ र कार्यालयको काम गर्दा पनि इन्टरनेट ढिलो हुने समस्या हुनेछैन।
कम्पनीले २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका विभिन्न उच्च गतिका योजना उपलब्ध गराएको छ। यसमध्ये २५० एमबीपीएस गतिको वार्षिक योजना रु १३,८०० (भ्याटसहित) मा पाइनेछ भने वार्षिक सदस्यता लिने ग्राहकलाई थप एक महिनाको सेवा निःशुल्क दिइनेछ। घरभर समान रूपमा सिग्नल पुर्याउन रु ३,५०० (भ्याटसहित) मा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि उपलब्ध छ, जसले बाक्ला भित्तावाला वा ठूलो क्षेत्रफल भएका घरमा साधारण राउटरले नपुग्ने ठाउँसम्म पनि सिग्नल पुर्याउँछ।
पुराना ग्राहकका लागि भने कम्पनीले झनै सहज व्यवस्था मिलाएको छ। केवल रु ५०० शुल्क तिरेर पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ONU मा परिवर्तन गर्न सकिने भएकाले थप ठूलो लगानी नगरी नै नयाँ प्रविधिको फाइदा लिन पाइनेछ।








