इनरुवा। इनरुवा नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत इनरुवा नगरपालिकाको कृषि शाखाको आर्थिक सहयोग तथा बविया कृषि सहकारी संस्था लिमिटेड, इनरुवा–९ को आयोजनामा उक्त उपकरण वितरण गरिएको हो।

इनरुवा नगरपालिकाका कृषि शाखा प्रमुख किशोर भट्टराईका अनुसार किसानको मागका आधारमा सिँचाइका लागि बोरिङ सेट, मोटर सेट, डिजिटल काँटा, कोदालो, त्रिपाल, तरकारीका बिउ तथा विषादी वितरण गरिएको हो। उनका अनुसार आधुनिक कृषि उपकरणको प्रयोगबाट उत्पादन लागत घट्ने, श्रम र समयको बचत हुने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बविया कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नौसाद अन्सारीले वितरण गरिएका उपकरणले कृषि कार्यलाई सहज, छिटो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले यस्ता उपकरणको प्रयोगबाट किसानको श्रम, समय र खर्चमा कमी आउने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै इनरुवा नगरपालिकाकी उपप्रमुख बिनिता कुमारी मेहताले कृषि क्षेत्रमा जनशक्तिको अभाव, बढ्दो उत्पादन लागत तथा परम्परागत खेती प्रणालीका कारण किसान निरुत्साहित हुने अवस्था देखिएकाले नगरपालिकाले अनुदान कार्यक्रम सञ्चालन गरेको बताइन्।

उनले भनिन्, “आधुनिक कृषि उपकरणको प्रयोगबाट किसानले कम समयमा बढी काम गर्न सक्ने, उत्पादन लागत घटाउन सक्ने र उत्पादन वृद्धि गर्न सक्ने अपेक्षा गरेका छौं। यसले कृषिलाई थप प्रविधिमैत्री, उत्पादनमुखी र व्यावसायिक बनाउन टेवा पुग्नेछ।”

त्यसैगरी, इनरुवा–९ का वडाध्यक्ष बसिरमुद्धिन मन्सुरीले आधुनिक कृषि प्रविधिसँग किसानलाई जोड्नु अहिलेको आवश्यकता रहेको बताए। परम्परागत खेती प्रणालीका कारण लागत बढ्ने र श्रमसमेत बढी लाग्ने भएकाले किसान कृषि पेशाबाट निरुत्साहित हुँदै गएको उल्लेख गर्दै उनले ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको जानकारी दिए।

उनले वितरण गरिएका उपकरणको सही सदुपयोग गर्न किसानलाई आग्रह गर्दै आधुनिक प्रविधिको प्रयोगबाट कृषि उत्पादन वृद्धि, आयआर्जनमा सुधार तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उपकरण प्राप्त गरेका किसानले इनरुवा नगरपालिकाको पहलप्रति खुसी व्यक्त गर्दै आधुनिक कृषि उपकरणको प्रयोगले खेतीपाती सहज हुने, उत्पादन लागत घट्ने र उत्पादनसमेत वृद्धि हुने अपेक्षा गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia