सुनसरीको धरान उप-महानगरपालिका–२० च्यान डाँडाबाट प्रहरीले २ राउण्ड हवाई फायर गरी करिब २०९.४२ किलोग्राम लागूऔषध गाँजा र दुईवटा स्कार्पियो गाडीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ कार्तिक १६ गते राति करिब ०३:०० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले बा १० च ५०३८ र को १ च ८१८२ नम्बरका स्कार्पियोमा गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरीलाई देखेपछि भाग्न खोजेका अभियुक्तहरूलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा गाडी चालकद्वय सप्तरी डाक्नेश्वरीका २४ वर्षीय रामसागर कुमार यादव र छिन्नमस्ताका ५९ वर्षीय राज कुमार साह तथा अन्य संलग्नहरू सप्तरी राजगढका ४५ वर्षीय राजेन्द्र प्रसाद मंडल, धरान–११ का २१ वर्षीय अमृत बिशुङखे र भारत बिहार मधुबन्नीका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्। बरामद गाँजा र सवारी साधनसहित पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान अघि बढाइएको छ।








