इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चालन गरेको विषयले युवा तथा महिलाको समय, स्रोतसाधन र रोजगारीको अवसर जोखिममा पर्न थालेको भन्दै व्यावसायिक सीप तथा तालिम प्रदायक संघ (VSTPA), कोशी प्रदेशले सुनसरीका सम्पूर्ण स्थानीय तहलाई त्यस्ता संस्थालाई तालिम सञ्चालन गर्न नदिन औपचारिक आग्रह गरेको छ ।

संघले जिल्लाका सबै स्थानीय तहमा पत्राचार सम्पन्न गरिसकेको र चाँडै नै सम्बन्धित निकाय तथा पालिकाहरूसँग समन्वय गरिने संघका सचिव यज्ञराज दाहालले बताएका छन् ।

CTEVT ले मिति २०८२/१२/१८ मा सूचना जारी गर्दै सम्बन्धन/स्वीकृतिबिना छोटो अवधिका सीपमूलक तालिम सञ्चालन नगर्न सचेत गराएको थियो । परिषद्को मिति २०८२/१२/१७ को निर्णयअनुसार स्वीकृतिप्राप्त संस्थाबाट मात्र तालिम सञ्चालन गर्नुपर्ने, सहभागी हुनुअघि संस्थाको मान्यता यकिन गर्नुपर्ने र नियमविपरीत तालिम सञ्चालन गर्ने संस्थालाई प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवस्था छ ।

सोही सूचनालाई आधार बनाउँदै संघले स्थानीय तहलाई पठाएको पत्रमा सम्बन्धन नलिएका संस्थालाई आफ्नो क्षेत्रभित्र तालिम सञ्चालन गर्न नदिन, त्यस्ता संस्थालाई जिम्मा, कार्यादेश, अनुदान वा साझेदारी नगर्न, CTEVT को पाठ्यक्रम, समयावधि र मापदण्डविपरीत आफूखुसी तालिम सञ्चालन गर्न/गराउन नदिन तथा स्थानीय तहको नाम, लोगो, भौतिक सुविधा वा सिफारिस प्रयोग गर्न नदिन आग्रह गरिएको छ ।

साथै स्थानीय तहले आफैँ तालिम सञ्चालन गर्दा पालना गर्नुपर्ने बुँदाहरु समेत पत्रमा उल्लेख छन् । तालिम CTEVT पाठ्यक्रमअनुसार गराउने, सार्वजनिक खरिद ऐनको पूर्ण पालना गर्दै सूचना सार्वजनिक गर्ने, भौगोलिक रूपमा नजिक र आफ्नै प्रयोगात्मक ल्याब एवं पूर्वाधार भएको संस्था छनौट गर्ने, प्रस्ताव आह्वान गर्दा सम्बन्धन प्रमाणपत्रको प्रतिलिपि अनिवार्य माग गर्ने, आन्तरिक मूल्याङ्कन गराउने, स्थानीय माग र श्रम बजारअनुसार तालिम छनौट गर्ने तथा वडा कार्यालय र स्थानीय सञ्चारमाध्यममार्फत CTEVT को सूचना सार्वजनिक गरी इच्छुक व्यक्ति र अभिभावकलाई सम्बन्धन यकिन गरेरमात्र सहभागी हुन जानकारी गराउने बुँदा त्यसमा समावेश छन् ।

तालिमसम्बन्धी सबै क्रियाकलापमा संघका प्रतिनिधिलाई विषयविज्ञका रूपमा राख्नुपर्ने माग पनि संघले गरेको छ । संघका अध्यक्ष रमेश कटुवालका अनुसार तालिम प्रदायक संस्थाहरू विशुद्ध रूपमा तालिम प्रदान गर्ने कार्यमा संलग्न छन् र राज्यले तोकेको CTEVT सम्बन्धन प्राप्त गरेरै तालिम सञ्चालन गर्दै आएका छन् । “यस विषयमा राज्यले समेत सूचना प्रकाशन गरी स्पष्ट पारिसकेको छ, हामी तदारुकताका साथ लाग्नेछौँ,” उनले भने ।

संघले उक्त पत्रको बोधार्थ CTEVT कोशी प्रदेश कार्यालय, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशलाई पठाएको छ ।

सम्बन्धन नलिएका संस्थाबाट हुने तालिमलाई निरुत्साहित गरी गुणस्तरीय र मान्यताप्राप्त तालिमको प्रवर्द्धन गर्न संघ सदैव समन्वय र सहकार्यका लागि तत्पर रहेको जनाउँदै स्थानीय तहहरूसँग आवश्यक सहयोगको अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia