सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले मिति २०८३/०८/०२ गते सुनसरीको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

शंकर थापासमेत ४ हजार २४३ जनाको जाहेरीमा नेपाल सरकार वादी बनेको यस मुद्दामा १७ हजार १० जना पीडित रहेका र कुल बिगो रु. १०.७३ अर्ब बढी रहेको प्रहरीले जनाएको छ।
धरानमा मुख्य कार्यालय रहेको सो सहकारीले नेपालभर ३० र विदेशमा ४ वटा कम्पनी स्थापना गरेको थियो।
पक्राउ पर्नेमा ४५ वर्षीय शिव कुमार विश्वकर्मा (लामिछाने) र सहकारीकी ऋण उपसमिति सदस्य एवं ग्राहक सेवा कर्मचारी ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन्।
उनीहरूमाथि थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भइरहेको छ।








