ढाका– बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दमन गर्ने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले सोमबार हसिनामाथि मृत्युदण्डको फैसला सुनाएको हो। न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सम्मिलित तीन सदस्यीय इजलासले मुद्दामाथि निर्णय सुनाएको हो।
यो मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षकलाई प्रतिवादी बनाइएको थियो। अदालतले तीनै जनालाई दोषी ठहर गरेको छ।
विद्रोही विद्यार्थीहरूलाई नियन्त्रणमा लिन र पहिचान गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिएको र प्रदर्शनकारी जम्मा भएको स्थलमा हेलिकोप्टरबाट बम खसाल्न समेत आदेश दिएको अदालतको ठहर छ। अदालतका अनुसार फैसला गर्न ५४ जनाको बयानलाई आधार बनाइएको हो। हसिना भने यस प्रक्रियामा उपस्थित भइनन्। उनी अहिले भारतमा रहेकी छिन्।








